वासिङटन । अमेरिकी सवारीसाधन सुरक्षा नियामकीय अधिकारीले औपचारिक रुपमै टेस्लामाथि अनुसन्धान सुरु गरेका छन् । रोयटर्सका अनुसार टेस्लाको ड्राइभिङ सहयोगी फिचर अटोपाइलटको सुरक्षा संवेदनशीलताबारे अनुसन्धान सुरु गरिएको हो ।
आकस्मिक सवारीसाधनहरु समेत शृंखलाबद्ध रुपमा दुर्घटनामा परेपछि अधिकारीहरुले अनुसन्धान थालेका हुन् । द नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए)ले सन् २०१८ जनवरीयता ११ वटा दुर्घटनाको पहिचान भएको बताएको छ । अनुसन्धानपछि पनि ती कारलाई फिर्ता लैजान कम्पनीलाई लगाउनेबाहेक अन्य कारबाही गर्न नसकेको जनाएको छ । अटो सेफ्टी एजेन्सीले ती दुर्घटनामा १७ जना घाइते र एक जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
अनुसन्धानको खबरसँगै टेस्लाको सेयर मूल्य ३.६ प्रतिशतले गिरावट आएको छ । टेस्लाका मालिक एलन मस्कले भने अटोपाइलटको बचाउ गर्दै आएका छन् । एनएचटीएसएका अनुसार ११ दुर्घटनामा चारवटा यही वर्ष भएको र एउटा गत महिना सान डियागोमा भएको थियो । उक्त संस्थाले सन् २०१४–२०२१ मा बनेका टेस्ला मोडल वाई, एक्स, एस र ३ को प्रारम्भिक मूल्यांकन गरिरहेको जनाएको छ । ती सबै दुर्घटनामा कि अटोपाइलट कि ट्राफिक अवेर क्रुज कन्ट्रोल सिस्टम कारण भएको उक्त संस्थाले जनाएको छ ।
यो अनुसन्धानमा अमेरिकामा रहेका टेस्लाका सात लाख ६५ हजार कारहरु परेका छन् । एनएचटीएसएले आफ्नो अनुसन्धानमा कारका प्रविधि, तरिका, सहयोगलगायत त्यसमा हुने ड्राइभरको संलग्नताबारे अध्ययन समावेश हुने जनाएको छ ।