काठमाडौं । अफगानिस्तानमा रहेका एक सय १८ जना नेपाली कुवेत हुँदै काठमाडौं आएका छन् । अफगानिस्तान विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएसँगै विदेशी नागरिकहरूले अफगानिस्तान छाड्ने क्रममा नेपालीहरू त्यहाँबाट बाहिरिएका हुन् ।
चार्टर्ड विमानमार्फत एक सय १८ जना नेपाली र नौ जना भारतीय गरी एक सय २७ जना मंगलबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ जना नेपालीलाई अमेरिकाले दोहा पु¥याएकोमध्ये पहिलो चरणमा केहीलाई काठमाडौं ल्याएको हो । बिहान करिब सवा १० बजे उनीहरू विमानस्थल आइपुगेका थिए । फर्किएका अधिकांश अमेरिकी सेना तथा संस्थाको सुरक्षा गार्डमा कार्यरत थिए ।
काठमाडौं ओर्लिएका नेपाली र भारतीयलाई नेपाली सेनाले सामाखुसी लगेको छ । विमानस्थलबाट नेपाली सेनाको बसमा राखी उनीहरूलाई सामाखुसीस्थिति होल्डिङ सेन्टरमा लगिएको हो । उनीहरूको कोरोना परीक्षणपश्चात् सेन्टरमा राख्ने तथा घर फर्किन दिइएको छ । परीक्षण पोजेटिभ आएकालाई सेन्टर र नेगेटिभ आएकालाई घर जान दिइएको हो । नौ जना भारतीय नागरिकहरूलाई स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरी काठमाडौंस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको छ । काबुलस्थित अमेरिकी मिसनमा कार्यरत अमेरिकी सेना तथा अधिकारीहरूसँग काम गरेका नेपालीहरू पहिलो उडानमार्फत काठमाडौं आइपुगेका हुन् । उनीहरू काबुल, दोहा र कुवेत हुँदै काठमाडौं आएका हुन् ।
काठमाडौं आइपुगेका नेपालीलाई त्रिभुवन विमानस्थलमा अमेरिकी राजदूत ¥यान्डी बेरीले स्वागत गरेका छन् । ‘काबलुस्थित अमेरिकी मिसनमा कार्यरत अमेरिकी अधिकारीहरूसँग काम गरेका नेपालीहरूमध्ये पहिलो उडानमार्फत सकुुशल काठमाडौंमा स्वागत गर्न पाउनु आफूहरूको लागि सम्मानको विषय हो’, उनले ट्विटमार्फत भनेका छन्, ‘नेपालीहरूको सुरक्षालगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौँ ।’
नेपालीको सुरक्षित उद्धारको लागि सरकारले विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूको सहयोग खोजेको थियो । काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूमा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले मित्रराष्ट्रहरू संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरूलाई औपचारिक पत्राचार गरी अनुरोध गरेको थियो ।
नेपाल सरकारले अफगानिस्तानमा रहेका नागरिकलाई सडक, हवाइ वा सीमानाकाबाट देश छाड्न चाहने सबैको सम्मान र सहजीकरण गर्नका लागि आग्रह गरेको छ । त्यस्तै कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म दुई सय ५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानमा समस्या परेका थप नेपालीहरूले कन्सुलर सेवा विभागको वेबसाइट अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न तथा भाइबर र ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरू ९७७–९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), ९७७–९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) र ९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउनु पुनः आग्रह गरेको छ ।
उद्धारको पर्खाइमा अफागानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार नहुँदासम्म जो जहाँ रहेका छन् माथि उल्लिखित नम्बर तथा स्थानमा सम्पर्क गर्न, रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालीहरूबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न आग्रह गरेको छ । त्यस्तै सुरक्षित रुपमा रहन समेत आग्रह गरेको छ ।