काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सबापत नेपालमा भित्रिने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेकोले बैंकिङ च्यानलमार्फत भित्रिने रेमिट्यान्सलाई ऊर्जालगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीति बनाउन सरकारलाई सुझाव दिएको छ ।
चेम्बरको प्रतिनिधिमण्डलले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई भेटी नेपाल जलस्रोतको अपार भण्डार भएको मुलुक भएकोले ‘नेपालको पानी जनताको लगानी’ अवधारणाका आधारमा यसको उपयोग गर्न सकिएमा अर्थतन्त्रलार्ई समृद्ध बनाउन र गरिबी निवारणमा टेवा पुग्न जाने बताए । त्यसको लागि जलविद्युत्को क्षेत्रमा सहज लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा चेम्बरको जोड थियो ।
भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले भारत, बंगलादेश लगायत दक्षिण एसियाली क्षेत्रमा द्रुतगतिले आर्थिक उन्नतिको मार्गमा अग्रसर भइरहेकाले ती मुलुकहरुमा विद्युत् बजार विस्तार गर्न निरन्तर रुपले कूटनीतिक पहल गर्न सुझाव दिए । विद्युत् ऊर्जामार्फत पेट्रोलियम पदार्थको आयात विस्थापन गर्न स्थानीयस्तरमा विद्युत् उपभोग बढाउने रणनीति ल्याउन पनि उनले आग्रह गरे । ऊर्जा क्षेत्रमा लगानी बढाउन हेजिङसम्बन्धी व्यवस्था, जग्गा प्राप्तिको लागि सरलीकरण, आयकर छुट, प्रसारणलाइन र सबस्टेसन निर्माणसम्बन्धी रणनीतिक योजनाबारे पनि चेम्बरले सरकारलाई सुझाव दिएको छ ।
भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले मुलुकको समृद्धिको आधारशिला कृषि, ऊर्जा तथा पर्यटन क्षेत्र रहेको बताइन् । उनले कृषि क्षेत्रको विकासको लागि विद्युतीय प्रयोगमा वृद्धि ल्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइने जानकारी समेत दिइन् । यसका लागि सिँचाइको लागि सहुलियत दरमा विद्युत् प्रदान गरिने उनको भनाइ थियो । साथै विपन्न वर्गको लागि २० युनिट विद्युत् निःशुल्क प्रदान हुने उनले बताइन् ।