न्युयोर्क । चीनमा टेस्ला कारको बिक्री ह्वात्तै घटेको छ । यसका कार बिक्रेता समूहको रिपोर्टअनुसार टेस्लाले आफ्नो परम्परागत र विद्युतीय गाडीको बिक्रीमा विश्वकै ठूलो बजारबाट ठाउँ गुमाइरहेको देखिएको हो ।
द चाइना पेसेन्जर कार एसोसिएसनले जुलाईमा टेस्लाको बिक्री घटेर आठ हजार छ सय २१ वटामा खुम्चिएको उल्लेख गरेको छ । यो भनेको जुन महिनाको तुलनामा झण्डै ७० प्रतिशत कमी हो । यसका बाबजुद टेस्लाको सांघाई कारखानाबाट निर्यात ह्वात्तै बढेको छ । कारखानाबाट जुलाईमा मात्रै २४ हजार तीन सय ४७ कार निर्यात भएको हो । जुनमा यस्तो संख्या पाँच हजार १७ मात्रै थियो । यसको अर्थ चीनमा बनेका कुल टेस्लाको बिक्री केवल एक प्रतिशतभन्दा कम मात्रैले घटेको हो ।
चीनमै बिक्री घट्नुलाई भने आलोचकहरूले टेस्लाले उक्त देशमा खेपिरहेको समस्याको संकेत भनेका छन् । त्यसो त चीनमा टेस्लाले स्वदेशी कम्पनीसँग तीव्र प्रतिस्पर्धा गर्नुपरिरहेको छ । यसबाहेक कम्पनीले समस्याका कारण कति कार नै फिर्ता गर्नुपरेको छ । कारको गुणस्तरमा समस्या देखिनेदेखि चिनियाँ नियामकबाट सुरक्षालाई लिएर चासो व्यक्त भएका छन् ।
विश्लेषक गोर्डन जोन्सनका अनुसार चीनमा ब्याट्री इलेक्ट्रिक कार बिक्रीमा जुलाई महिनामा टेस्लाको हिस्सा ३.९ प्रतिशत मात्रै छ । जुनमा यस्तो हिस्सा १२.६ प्रतिशत थियो । जोन्सन टेस्लाको कटु आलोचक रहेका छन् । स्थानीय ईभी स्टार्टअपहरूबाट टेस्लाले डरलाग्दो प्रतिस्पर्धा खेप्नुपरेको उनले बताए । आलोचकले त्यसो भने पनि टेस्लाका लगानीकर्ता भने चिन्तित नदेखिएको सीएनएनले जनाएको छ । बिक्री घटेका समाचारका बाबजुद टेस्लाको सेयरमा ठूलो गिरावट नआउनुले पनि लगानीकर्ताको विश्वास कम्पनीमाथि कमजोर नरहेको देखिएको हो ।