काबुल । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आममाफी’को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानुनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानुन इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानुन हो । तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामंगानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आममाफी दिइने बताएका फ्रान्सेली टेलिभिजन फ्रान्स–२४ ले उल्लेख गरेको छ ।
‘पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ’, सामञ्जनीले माफी को घोषणा गर्दै भने । शरिया कानुनबमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ तर उनीहरू शरिया कानुनअनुसार सरकारी संरचनामा रहनुपर्दछ । अफगानिस्तानको प्रमुख टिभी स्टेसन टोलो न्युजले उसको एक महिला कार्यक्रम सञ्चालिकाले मंगलबार तालिवानको सञ्चार समूहका सदस्य सामांगिनीको अन्तर्वार्ता प्रसारण गरेको थियो । उक्त कार्यक्रममा ती तालिवान सदस्यले सरकारको संरचना अझै पूर्ण रुपमा स्पष्ट नभएको तर अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने र सबै पक्षलाई समावेश गरिने बताएका थिए ।