काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं दक्षिणकाली नगरपालिका ३ सोखेल बस्ने समुन्द्र कशेर केसी र काभ्रे धुलिखेल नगरपालिका २ घर भई हाल डल्लु बस्ने श्याम प्रसाद धिनाजु श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुुमार महतोले जानकारी दिए ।
बुधबार केसीलाई काठमाडौंको चौमतीबाट र श्रेष्ठलाई पनि सोही दिन काठमाडौंको बसपार्कबाट पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरु केसीमाथि १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भएको छ भने श्रेष्ठमाथि छ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भएको छ ।
दुवै व्यक्तिले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी क्रमशः सनराइज बैंक र मेगा बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी फरार रहेका थिए । यसरी फरार प्रतिवादीहरुलाई सीआईबीबाट परिचालित टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि क्रमशः काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालत पेश गरेको जनाएको छ ।