काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौँले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले वृद्धि गरी १० करोेड ४० लाख रूपैयाँ पु-याएको छ । बचत संकलन ३५ प्रतिशतले वृद्धि गरी ५६ करोड रूपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा संस्थाको ऋण लगानी ३० प्रतिशतले बृद्धि भएको बताइएको छ । संस्थाको वासलत ७५ करोड रूपैयाँ छ । यस्तै आउने आर्थिक वर्षमा वासलत १ अर्ब पु-याउने संस्थाको लक्ष्य रहेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नाफामा समेत ९५ प्रतिशतले वृद्धि गरेको छ । कोरोना महामारीको समयमा समेत संस्थाले नाफा र अन्य वित्तीय विवरणमा उल्लेख्य सुधार गर्न सफल भएको अध्यक्ष धामीले जानकारी दिए । संस्थामा जगेडा तथा अन्य कोष दुई करोडभन्दा बढीको छ ।
काठमाडौँंको कुलेश्वरमा प्रधान कार्यालय रहेको सहकारीको सेवा केन्द्रहरू काठमाडौंको सुन्धारा र मैतीदेवीमा रहेको छ । सहकारीमा २५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यक्रमहरूसमेत गर्दै आइरहेको छ । नाफाको ३ देखि ५ प्रतिशत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेको सहकारीले जनाएको छ ।