काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५बी१ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स उद्यमी नमूना गाउँ बनाउने अभियान कास्कीबाट शुभारम्भ गरिएको छ । पूर्वगृहमन्त्री तथा संघीय सांसद खगराज अधिकारीको प्रमुख आतिथ्यमा थाम, ल्हाम्जा–५ मादीमा लायन्स उद्यमी नमुना गाउँ उद्घाटन गरिएको हो ।
कार्यक्रममा सांसद अधिकारीले सामाजिक संस्था लायन्सले गरेका सेवा कार्यहरुको प्रशंसा गर्दै ल्हाम्जा–५ मादीमा नमूना उद्यमी गाउँ बनाउने लायन्सको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । सो अवसरमा डिस्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले लायन्सले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरिरहेको तर समुदायमा त्यसले सकरात्मक प्रभाव पार्न नसकेको अनुभूति गरेर दिगो विकासको केही कार्यक्रम गर्ने उद्देश्यले यो वर्ष १४ वटा जिल्लाको १४ गाउँमा नमूना उद्यमी गाउँ बनाउने योजना ल्याएको बताए ।
लायन्सले गर्ने नियमित सेवाका कार्यसँगै नमूना उद्यमी गाउँ बनाउने अभियानमा सहकार्य गर्न सबैलाई आग्रह समेत गरे । लायन्स मोडेल भिलेज कास्कीका प्रमुख तथा कार्यक्रम संयोजक टीकाराम सापकोटाका अनुसार उक्त गाउँमा लायन्सका सम्पूर्ण कार्यक्रम केन्द्रित गरी, विभिन्न किसिमका तालिम, सीप सिकाउँदै कृषि र पर्यटनको प्रवर्द्धन गर्दै गाउँलेलाई उद्यमी बनाउने अभियानमा लायन्स लागेको बताए । लायन्स उद्यमी गाउँ उद्घाटन कार्यक्रमका अवसरमा डिष्ट्रिक्ट तथा विभिन्न संघ/संस्थाबाट प्राप्त करिब छ लाखबराबरको सामग्री पनि गाउँलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लायन भीष्म पौडेलको पहलमा नमस्ते सामुदायिक प्रतिष्ठानको तर्फबाट प्राप्त २ थान हाते ट्रयाक्टर, चितेपानी फाउन्डेसनको तर्फबाट लायन टीकाराम सापकोटाको पहलमा प्राप्त राईस मिल–१ थान, लायन्स क्लब अफ पोखरा राइजिङ स्टारबाट प्राप्त डष्टबिनहरु तथा डिष्ट्रिक्टबाट प्राप्त वाटर फिल्टर, वाद्यवादनका सामग्री, खेलकुद सामग्री, फलफूलका बिरुवा (एभोकाडो कागती लगायत)का सामग्री हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५बी१ नेपालका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।