काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकबाट रिक्त सञ्चालकमा ललितपुर निवासी विकाश महर्जन नियुक्त भएका छन् । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका विकाश महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल टेलिकम, नेपाल स्टक एक्सचेन्जलगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरूमा सूचना प्रविधि विशेषज्ञका रूपमा कार्य गरिसकेका छन् ।
यसबाहेक उनले प्रभु टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत तथा प्रभु समूहमा महाप्रबन्धकका रूपमा समेत कार्य गरिसकेका छन् । हाल सूचना प्रविधिसँग सम्बन्धित विशेषज्ञ सेवा उपलब्ध गराउने कार्यमा संलग्न महर्जनले देश विदेशबाट विभिन्न प्राविधिक तालिम तथा सेमिनारहरूमा सहभागी भएका छन् । फाइनान्सको सञ्चालक समितिमा उनको नियुक्तिबाट संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवाप्रवाह गर्न सहयोग पुग्ने विश्वास फाइनान्सका अध्यक्ष किशोर महर्जनले व्यक्त गरे ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिटान्स सेवाहरूको उपलब्धता रहेको यस प्रोग्रेसिभ फाइनान्सले हाल १५ वटा शाखा तथा पाँचवटा विस्तारित काउन्टरहरूमार्फत सम्पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै फाइनान्सले निकट भविष्यमा शाखारहित बैंकिङ सेवा समेत प्रवाह गर्ने तयारी गरेको छ ।