अस्ट्रेलिया । अस्ट्रेलियाको क्वान्टास एयरले आफ्ना सबै कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनैपर्ने व्यवस्था गरेको छ । कर्मचारीलाई खोप अनिवार्य गर्ने क्वान्टास पछिल्लो हवाइ सेवा प्रदायक हो । कम्पनीले अग्रपंक्तिमा खटिने पाइलट, क्याबिन क्रु र विमानस्थलका कर्मचारीलाई अनिवार्य गरेको छ । उनीहरुले मध्यनोभेम्बरसम्ममा पूर्णरुपले खोप लगाइसकेको हुनुपर्नेछ । त्यस्तै अर्को वर्षको मार्चसम्ममा बाँकी सबै कर्मचारीले खोप लगाइसकेको हुनुपर्नेछ ।
न्यु साउथ वेल्स राज्यमा उच्च रुपमा दैनिक संक्रमित भेटिनथालेपछि कम्पनीले यस्तो निर्णय गरेको छ । अस्ट्रेलियाली ध्वजावाहक क्वान्टास देशकै ठूलो र चर्चित कम्पनी हो । क्वान्टासका प्रमुख कार्यकारी एलान जोयसले आधारभूत सेवा प्रदान गर्ने आफूजस्तो कम्पनीले खोप अनिवार्य गर्दा कोभिड संक्रमणले पार्नसक्ने खतराविरुद्ध लड्न सहयोग पुग्ने बताए ।
उनले कोभिडविरुद्धको खोप नै लकडाउनलगायतका असहज परिस्थिति टार्ने उपयुक्त विकल्प भएको दाबी गरे । क्वान्टासले आफ्ना ८९ प्रतिशत कर्मचारीले खोप लगाइसकेको जनाएको छ । २२ हजार कर्मचारीमध्ये १२ हजारले प्रतिक्रिया दिएकामा चार सय ८० कर्मचारी खोपप्रति अनिच्छुक रहेको कम्पनीले जनाएको छ । औषधिजन्य कारणले खोप नलगाउने कर्मचारीलाई भने अनिवार्य नगर्ने पनि कम्पनीले जनाएको छ ।