काठमाडौं । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरू उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकहरूले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स पेमेनट, डकुमेन्ट एसप्टेन्स र लोकल बैंक ग्यारेन्टी आदि सुविधाहरू उपभोग गर्न सक्नेछन् । यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरूले आधुनिक बैंकिङ सुविधाहरू उपभोग गर्ने अवसर प्राप्त गर्नेछन् । साथै यस सम्झौतापश्चात् दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ ।
साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुखकार्यकारी अधिकृत, अनिल केशरी शाहले भने ‘नबिल बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरूलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ । यस व्यापार सम्झौताअन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ र दुवै बैंकका ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवासुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ ।’
नबिल बैंकसँग भएको यो सम्झौताले मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आउदा दिनहरूमा प्रतितपत्र, बैंक जमानत, डिमान्ड ड्राफ्टलगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरू मुक्तिनाथ विकास बैंकका शाखाहरूबाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकहरूलाई समग्र बैंकिङ सेवा लिन सुविधा पुग्ने कुरा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी दिएका छन् ।