काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो एक सय १५औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भीमदत्त नगरपालिका नगरप्रमुख सुरेन्द्र विष्टले गरे । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो ।
उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगरप्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु-याउने कुरा बताए । व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकूल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।
सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङका प्रमुख भोलाबहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरूको सहभागिताबिना आर्थिक समृद्धि सम्भव नहुने बताए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपालभर छरिएका ११५ शाखाहरू गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्ध रहेको तथा हाल विश्वव्यापीरूपमा व्याप्त कोरोना महामारीको विशम परिस्थितिमा बजारमा प्रदान गरिएको व्याजदरभन्दा सिभिल बैंकले सर्वाधिक ब्याजदर प्रदान गरिँदै आएकोले यसको लाभ उठाउन अपिल गरे ।
बैंकले हालसम्म करिव छ लाख ग्राहकहरूलाई एक सय १५ शाखाहरू, १० वटा एक्सटेन्सन काउन्टरहरू तथा ८६ एटीएमहरूमार्फत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दै करिब ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।