काबुल। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आफ्ना स्रोतहरुमा अफगानिस्तानको पहुँच रोकेको छ । तालिबानले सत्ता कब्जा गरेसँगै आईएमएफले यस्तो निर्णय गरेको हो ।
आईएमएफका प्रवक्ताले अफगानिस्तानको सरकारबारे अन्तर्राष्ट्रिय समुदायभित्र स्पष्टताको अभावलाईं कारण देखाउँदै यस्तो निर्णय गरिएको उल्लेख गरेका छन् । यही अगस्ट २३ मा आईएमएफबाट ३७ करोड डलरभन्दा धेरैको स्रोत अफगानिस्तानमा जाने क्रममा थियो ।
यी स्रोतहरु आर्थिक संकटलाई सम्बोधन गर्ने हिस्साअन्तर्गत थिए । ‘स्पेसियल ड्रविङ राइट्स’सम्बन्धी सम्पत्तिका आईएमएफ सञ्चितिको पहुँच पनि रोकिएको छ । यी कोषलाई सिधै सरकारी सम्पत्तिमा रुपान्तरण गर्न सकिन्छ । एसडीआर भनेका आईएमएफको स्टर्लिङ, डलर, युरो, येन र युआनमा आधारित विनिमय युनिट हुन् ।
अमेरिकी बाइडेन प्रशासनले अमेरिकी केन्द्रीय बैंकमा रहेका कुनै पनि अफगान सरकारको सम्पत्ति तालिबानलाई नदिने निर्णय लिएलगत्तै आईएमएफको कदमबारे सार्वजनिक भएको हो । अमेरिकी संसदका सदस्यहरुले ट्रेजरी सेक्रेटरी यानेट येलेनलाई पत्राचार गदै अमेरिकासमर्थित कुनै पनि सहयोग तालिबानमा नजाने सुनिश्चित गर्न भनेका थिए । यसअघि नै अमेरिकाले सात अर्ब डलर हाराहारीको सम्पत्तिमा तालिबानको पहुँच नदिने बताइसकेको छ ।