काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय/स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकुमा शुक्रबार उद्योगी व्यवसायीहरूका लागि कोभिडविरूद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलब्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा महासंघका सदस्य संघ/संस्था आबद्ध उद्यमी व्यवसायीहरू, कामदार कर्मचारीहरू तथा परिवारजनलाई खोप दिइएको थियो । उक्त कार्यक्रममा करिब छ सय जनाले भेरोसिल खोप लगाएका छन् । सरकारको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गरिएको खोप कार्यक्रम साँझ ४ बजेसम्म चलेको थियो । खोप कार्यक्रमको शुुभारम्भ महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा सीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए ।
संघीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिडविरूद्धको खोप उपलब्ध गराएजस्तै सबै प्रदेश सरकारहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासंघले सम्बन्धित प्रदेश सरकारहरूसँग अनुरोध समेत गरेको छ ।