काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक (प्रस्तावित)को सम्पर्क कार्यालय खुलेको छ । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्तरूपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रस्तावित बैंकले मध्यबानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई छ महिनापछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ । प्रस्तावित बैंकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउँदै सबैको साझा सहकारी बैंकको रूपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ ।
नेपाली कांग्रेसका नेता ढुंगानाले अबको छ महिनाभित्र बैंक सञ्चालनमा आउने बताए । उनले भने पुँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैंकको अपरिहार्य रहेको उल्लेख गरे । जहाँ प्रतिस्पर्धा हुन्छ त्यहा प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अघि बढेको हो । एउटा मात्र बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैंक स्थापना गर्न लागिएकोमा खुसी लागेको बताउँदै त्यसको लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग रहने उल्लेख गरे ।
उनले प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्तावित सहयकारी बैंक स्थापना गर्ने चाहना रहेको बताए । उनले भने, उनले त धेरै बैंक स्थापना गरेर सक्दो सेवा दिन सहज हुने वातावरण तयार गर्न आग्रह गरिसकेका छन् । प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने दाबी गरे । उनले भने, ‘लाइसन पाउनासाथ कारोबार सुरु गरिहाल्नेछौँ । केही साथीले यो बैंकलाई नेपाली कांग्रेसको बैंक भनेर हल्ला गर्दै हिँडेका छन् । केहीले त बैंक खोल्न दिनै हुँदैन भन्ने गरेका छन् । तर म भन्छु यो बैंक कुनै पार्टीविशेषको नभई देशैभरका सहकारीहरूको सेवामा समर्पित बैंक हो । यसलाई पार्टी विशेषको हो भन्न मिल्दैन ।
प्रतिस्पर्धात्मक मुलुकमा यही प्रकृतिका करिब छवटा बैंक आवश्यक रहेको औँल्याउँदै त्यसको लागि सरकारले प्रक्रिया अघि बढाउन सहजीकरण गर्नुपर्ने बताए । उनले भने, अब यो बैंक अघि बढिसकेको छ । आशयपत्र लिनासाथ देशैभर कारोबार अघि बढाउनेछौँ । उनले राष्ट्र बैंकले तोकेअनुसारको सबै प्रक्रिया पूरा गरी अन्तिम चरणमा रहेको उल्लेख गर्दै अब छ महिनाभित्र अनुमतिपत्र पाएर बैंक सञ्चालनमा आउनेछ उनले भने ।
भण्डारीले राष्ट्र बैंक ऐनमा सहकारी बैंकसम्बन्धी व्यवस्था पनि थप हुनुपर्ने कुरामा जोड दिँदै सहकारी बैंक थपिँदा प्रतिस्पर्धा भई प्रारम्भिक सहकारी संस्थाहरूले राम्रो सेवा पाउने र ग्रामीण क्षेत्रमा पुँजीको विस्तार गर्न सहयोग पुग्ने बताए । तर राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूले भने नेपाल राष्ट्र बैंकबाट विगत चार वर्षदेखि नयाँ बैंक वित्तीय संस्थालाई लाइसेन्स नदिएकाले नेपाल सहकारी बैंकलाई पनि दिन नमिल्ने, एउटा सहकारी बैंक हुँदाहुँदै किन अर्को बैंक चाहियो ? भनेर कहीँकतै अवरोध गर्नेगरेको उनको गुनासो थियो ।
साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरूपमा विस्तार गरिने उनको भनाइ थियो । यसअघि बैंकले गएको माघ १७ गते प्रारम्भिक भेला आयोजना गरी बैंक स्थापनाको प्रक्रिया सुरु गरेको थियो । सहकारी ऐन–२०४८ मा भएको व्यवस्थाअनुरूप स्थापना भएको बैंक सञ्चालनमा छ । ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने कुरा उल्लेख छ । सोही ऐनअनुसार बैंक स्थापान प्रक्रिया अघि बढाइएको हो ।
त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सय एक संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ । प्रस्तावित बैंकले सबै प्रक्रिया पूरा गरी अन्तिम प्रक्रिया पूरा गर्न राष्ट्र बैंकमा काजगपत्र पेस गरिसकेको छ ।