काठमाडौं । यस साता सेयर बजार परिसूचक तीन हजार एक सय ८० दशमलव ७८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ९० दशमलव १५ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार आठ लाख ८७ हजार २१ पटकको कारोबारमा १६ करोड २२ लाख चार हजार तीन सय ८० कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ९७ अर्ब ५९ करोड ६१ लाख ३७ हजार आठ सय ६६ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै २० अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार सात लाख १३ हजार सात सय ३० पटकको कारोबारमा १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री हुँंदा कुल कारोबार रकम ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक २४ दशमलव ८८ अंकले ओरालो लागेर तीन हजार एक सय ५४ दशमलव तीन बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव नौ बिन्दुले ओरालो लागेर पाँच सय ८९ दशमलव २८ बिन्दुुमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक पाँच दशमलव ७२ अंकले उकालो लागेर तीन हजार एक सय ६० दशमलव पाँच बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५६ बिन्दुले उकालो लागेर पाँच सय ९२ दशमलव ९३ बिन्दुमा चढेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक शून्य दशमलव २३ अंकले उकालो लागेर तीन हजार एक सय ६० दशमलव ३१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३५ अंंकले उकालो लागेर पाँच सय ९३ दशमलव २८ बिन्दुमा चढेको थियो । चौथो दिन पनि बजार परिसूचक ३८ दशमलव २८ अंकले उकालो लागेर तीन हजार एक सय ९८ दशमलव ६० बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८३ अंकले उकालो लागेर पाँच सय ९८ दशमलव ११ बिन्दुमा चढेको थियो । पाँचौं दिन भने बजार परिसूचक १८ दशमलव २४ अंकले ओरालो लागेर तीन हजार एक सय ८० दशमलव ७८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३३ अंकले ओरालो लागेर पाँच सय ९० दशमलव १५ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीह्रूको सूचीमा अरुण कावेली पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेपाल बैंक, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
