सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा तीन दिन सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् । गैरसरकारी संस्था मदत नेपालको आर्थिक तथा नगरपालिकाको समन्वयमा रोक्पा कोभिड राहत निःशुल्क स्वास्थ्य शिविरद्वारा आयोजित स्वास्थ्य शिविरमा पाँच सय ५० जनाले सेवा लिएको आयोजकले जनाएको छ ।
मदत नेपालका को–अडिनेटर रूपक दासका अनुसार कोभिडको महामारीको समयमा दीर्घरोगी, अशक्तसहितका व्यक्तिहरूलाई गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । शिविरमा दम, प्रेसर, सुगर, रुघाखोकी, ज्वरोजस्ता रोगहरूको उपचार गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको उनले बताए । शिविर बुधबार र बिहीबार तिङ्ला स्वास्थ्य चौकीमा र शुक्रबार बेलिडाँडामा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तिङ्ला स्वास्थ्य चौकीमा तीन सय ३८ जना र बेलिडाडामा दुई सय १२ जनाले सेवा लिएको जनाइएको छ । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाले नगरबासीको सेवाका लागि गैरसरकारी संस्थासँग सहकार्य गरी शिविरको आयोजना गरेको बताए । महामारीको समयमा समेत नागरिकको सेवामा तल्लीन भएको भन्दै आयोजक तथा सहयोगी संस्थालाई नगरप्रमुख शेर्पाले धन्यवाद ज्ञापन गरे ।