नयाँ दिल्ली । भारतमा फेरि किसानहरुले आन्दोलन चर्काएका छन् । पञ्जाब राज्यमा भएको किसान आन्दोलनका कारण रेलसेवा ठप्प भएको बताइएको छ । उखुको मूल्य बढाउन र बक्यौता तिर्नुपर्ने मुद्दालाई लिएर किसान आन्दोलित भएको नवभारत टाइम्सले जनाएको छ ।
सरकारलाई दबाब दिन किसानहरुले शुक्रबार जालन्धरमा अनिश्चितकालीन प्रदर्शन सुरु गरेका छन् । यसले लुधियाना–अमृतसर र लुधियाना–जम्मु रेलमार्गमा अवरोध सिर्जना भएको छ । रेल रद्द भएसँगै यात्रुहरुलाई समस्या भएको बताइएकोा छ । उत्तर रेलवेअनुसार किसानको आन्दोलनका कारण ८३ रेल प्रभावित भएका छन् ।
यसमा २२ र २३ अगस्टमा चल्ने ४८ रेललाई पूर्ण रद्द गरिएको छ भने २३ रेललाई आंशिक रुपमा रद्द गरिएको छ । १२ वटा रेलको भने रुट परिवर्तन गरिएको छ ।