काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणको दैनिक जनजीवनलाई प्रत्यक्ष असर पार्ने डिजेलदेखि खाना पकाउने ग्याससम्मको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार राति १२ बजेदेखि मूल्यवृद्धि गरेको हो । निगमले डिजेल, पेट्रोल, हवाइ इन्धन, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य एकै पटक वृद्धि गरेको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
निगमको नयाँ मूल्यअनुसार अब डिजेल र मट्टितेल प्रतिलिटर एक सय १३ रुपैयाँ, पेट्रोल प्रतिलिटर एक सय ३० रुपैयाँ, खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ पुगेको छ । ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरिएको हो । हवाइ इन्धन ८६ रुपैयाँ पुगेको छ । निगमले हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको हो । अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धन प्रतिलिटर १६ अमेरिकी डलरले वृद्धि गरी प्रतिलिटर सात सय ७० बनाएको छ ।
सबै किसिमका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे पनि निगमले अझै घाटा भएको भन्दै अर्को पटक पनि मूल्यवृद्धि गर्ने संकेत गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार स्वचालित मूल्य वृद्धि गरेको जनाएको छ । गत असार ३० गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धि गर्दै जाँदा पनि निगम घाटामा देखाउने प्रवृत्तिप्रति जनस्तरले प्रश्न उठाउने गरेका छन् । तर, सरकारले भने प्रष्ट जवाफ नदिई मूल्यवृद्धिलाई प्राथमिकतामा राख्दै आएको छ ।
निगमका अनुसार मूल्यवृद्धिपछि पनि नेपालमा पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ६४ पैसा, एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय २० रुपैयाँ ७५ पैसा घाटा छ । निगमले अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यन भएको कारण घाटा बढेको जनाएको छ ।
पेट्रोलियम पदार्थबाट सरकारले भन्सार विन्दुमा धेरै कर असुल गरे पनि आम सर्वसाधारणलाई राहत दिने गरी सहुलियत दिएको छैन । जुनसुकै दलको सरकार बने पनि पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न बेवास्ता गर्दै आएका छन् । सोही कारण सर्वसाधारण मर्कामा परेका छन् । डिजेलको मूल्यवृद्धि हुँदा ढुवानीको मूल्य बढ्नेछ भने खाना पकाउने ग्यासको मूल्यवृद्धिले चुल्होमा प्रत्यक्ष महंगी बढ्नेछ ।