काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बाँटफाँट कार्य सम्पन्न भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट क्यापिटलले सोमबार उक्त संस्थाले यसअघि जारी गरेको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
कम्पनीले नेपाल एसबिआई मर्चेन्टमार्फत साउन २७ गतेदेखि ३१ गतेसम्म साधारण सेयर जारी गरेकोमा २३ लाख ६१ हजार आठ सय २७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जानकारी दिएको छ । बाँकी रहेका २३ लाख ५४ हजार सात सय ८४ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको हो ।
बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलका अनुसार गोलाप्रथाबाट ३६ हजार आठ सय ५९ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने तीन जनाले ११ कित्ता सेयर पाएका छन् । आवेदन दिएकामध्ये २३ लाख २४ हजार बढी आवेदकको हात खाली भएको छ । संस्थाले सर्वसाधारणको लागि एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ९३ लाख ७५ हजार रूपैयाँबराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गरेको थियो ।