काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले हुन्डी कारोबार गरेको आंशकामा काठमाडौंको न्युुरोडबाट तीन जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार कोइरालाका अनुसार स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँ नगदसहित मंगलबार ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
मंगलबार अन्दाजी १ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. २२ खिचापोखरीस्थित बारा सिमरा उपमहानगरपालिका वडा नं २ घर भई हाल काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण पौडेलले बोकेको झोलामा अवैध रकम ३१ लाखसहित शंकास्पद अवस्थामा फेला पारिएको थियो । सोपश्चात् पौडेललाई नियन्त्रणमा लिई वृत्त जनसेवामा ल्याई प्रारम्भिक सोधपुछ गर्दा पौडेलले उक्त रकम रिन्कु भन्ने अभिशेष अग्रवालले दिएको बयान दिएका थिए ।
त्यसपछि अग्रवाललाई खोजी गर्दै जाँदा काठमाडौं महानगरपालिका वडा नं २४ फसिकेवस्थित राजेन्द्र स्थापितको घरमा उनले सञ्चालन गरेको होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडमा थप रकम फेला पारेको प्रहरीले जनाएको छ । निजको साथबाट ५४ लाख ५६ हजार फेला परेको थियो । त्यसपछि सोधपुछ गर्दा उक्त रकमको स्रोत खुलाउन नसकेको हुँदा कामदार मधुसुधन खड्कासहित उनीहरुले समानान्तर बैंकिङ कारोबार (हुन्डी) गरेको आशंका गरिएको छ । पक्राउ परेका तीनै जनालाई वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक कोइरालाले बताए ।