काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सत्तारुढ दलनिकट पाँच विद्यार्थी संगठनहरूले माग गरेका छन् । पाँच विद्यार्थी संगठनहरूले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्यांकलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाइएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन् ।
जनतालाई नकारात्मक असर पर्ने कुनै पनि निर्णय नगर्न खबरदारी गर्नुका साथै सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई फिर्ता लिन पनि माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए । यस्तै, पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न तहको परीक्षा सञ्चालन गरिरहेको भन्दै कक्षा १२ को परीक्षा तालिका पनि चाँडो सार्वजनिक गर्न माग गरेको छ ।
कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेन्डर ध्वस्त हुने अवस्था आएको भन्दै परीक्षा तालिका सार्वजनिक गर्न माग गरेका हुन् । विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।