काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले यो वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी ‘अटो एक्प्रेस ड्राइभ उत्सव’ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत सात दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जालगायतका उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
योजनाअन्तर्गत सेवाग्राहीले सात वर्षसम्मको अवधिका लागि आठ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियमसहित)मा अन्य सवारीसाधन कर्जाका साथै आठ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा पाँच वर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनको लागि विभिन्न नयाँ सवारीसाधन खरिदको लागि उपलब्ध हुनेछ ।
साथै कर्जा आवेदन प्रक्रिया पूरा भएको दुई कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आम ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरू ल्याउने गरेको छ । हाल बैंकले सात दशमलव ९९ प्रतिशत (प्रिमियमसहित)को ब्याजदरमै घर कर्जा योजना समेत सञ्चालन गरिरहेको छ ।