अमेरिका । अमेरिकी तल्लो सदन द हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति जो बाइडेनको महत्वाकांक्षी ३५ खर्ब डलरको बजेट प्रमाणीकरण गरेको छ । योसँगै बाइडेनको दल डेमोक्रेटिक पार्टीलाई उनको महत्वाकांक्षी आर्थिक एजेन्डा अगाडि बढाउने मार्गप्रशस्त भएको बीबीसीले जनाएको छ ।
मंगलबार संसदमा बजेट पारित भएसँगै डेमोक्र्याटहरुलाई मुख्य नीतिगत प्रस्तावहरु अगाडि बढाउन बाटो खुलेको छ । अमेरिकाका दुवै संसदमा बाइडेनको दल डेमोक्रेटिक पार्टीको झिनो बहुमत छ । बाइडेनको दलले पारिवारिक सहयोग, स्वास्थ्य र जलवायुसम्बन्धी स्किमहरुमा स्रोत जुट्ने आशा गरेको छ । तल्लो सदनमा बजेटको पक्षमा दुई सय २० मत र विपक्षमा दुई सय १२ मत परेको थियो । बजेटको पक्षमा विपक्षी रिपब्लिकन सांसद कसैले पनि मत नदिएको बताइएको छ ।
तर यसको भविष्यबारे भने यसै भन्ने अवस्था नभएको बताइएको छ । किनभने बाइडेनकै दलभित्र प्रगतिशील र केन्द्रीकृत धारका सांसदहरु रहेका छन् र उनीहरुबीच पनि विवाद छ । मंगलबार पारित बजेट पहिलो कदम मात्र हो । १० जना बाइडेनकै दलका सांसदले १० खर्ब डलरको पूर्वाधार विधेयक पारित गर्न चेतावनी दिइरहेका छन् । त्यसमा सडक, पुल, पावर ग्रिड, सार्वजनिक यातायात र इन्टरनेट जस्ता क्षेत्रको विकासका लागि बजेटको व्यवस्था गरिने उल्लेख छ । उक्त बजेट पारित हुन २४ घण्टा सदनमा छलफल भएको थियो । पूर्वाधार विधेयकबारे भने सेप्टेम्बर २७ मा छलफल हुने भएको छ ।