काठमाडौं । एनआईसी एसिया बैंकले बीमासहितको निक्षेप सुविधाअन्तर्गत २० लाख बीमा रकम भुक्तानी गरेको छ । प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत दुई जना खातावालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।
जसअनुसार बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेको टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएको छ । निजकी पत्नी रुकमती श्रेष्ठलाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
साथै बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘प्राइम श्रेणी’को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएकोे छ । निजलाई बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन ।
बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने विश्वास निज विनिताले व्यक्त गर्दे उनले भने, ‘मेरो परिवारलाई सहयोग गरेबापत बैंकका सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । यस बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका पाँच सय ५० जनाभन्दा बढी ग्राहकहरूले बीमाबापतको तीन करोड ५८ लाखभन्दा बढी रकम प्राप्त गसिकेका छन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५६ शाखा कार्यालयहरू, चार सय ७२ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरूमाझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।