काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका सुमनराज अर्याल नेपाल बैंकको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकबाट सर्वसम्मतरूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका छन् । सञ्चालक समितिका नवनियुक्त अध्यक्ष अर्यालले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट सोही मितिमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
शपथग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै उनको आगमनले बैंकको सञ्चालक समितिले थप उचाइ लिने र एउटा सफल प्रतिस्पर्धी बैंककोरूपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् । साथै, नेपाल सरकारले देशमा उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा आफ्ना भनाइ राख्दै नवनियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरेका छन् । शपथग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उनको आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यावसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम शर्मा ढुंगाना र बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायत नेपाल राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरू दीपेन्द्र विक्रम थापा, सुमन दाहाल, डा. सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर जबरा, विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त जानकारी गराएका थिए । साथै, उक्त कार्यक्रममा बैंकका कामु नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तको समेतको उपस्थिति रहेको थियो ।