काठमाडौं, भदौ १२ ,
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेको अधिकांश कर्जाको धितो कमजोर देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेको अधिकांश कर्जामा समस्या देखाउँदै ती कर्जाको सुरक्षणको लागि स्वीकार गरिएको धितो कमसल र कमजोर रहेको सार्वजनिक गरिदिएको हो ।महालेखाको उक्त प्रतिवेदनअनुसार राष्ट्रिय वाणिज्य बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई चार खर्ब ४५ करोड ६७ लाख रुपैयाँ र सर्वसाधारणलाई एक खर्ब ५० अर्ब ७९ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । तर बैंकले यति ठूलो परिमाणमा कर्जा प्रवाह गरे पनि महालेखाले बैंकले प्रवाह गरेको कर्जामा कर्जाको तुुलनामा धितोको मूल्य कम भएको जानकारी दिएको छ । यसका अतिरिक्त विभिन्न सहकारी संस्थाहरुसँग सम्बन्धित विवाद रहेको, विवाद अदालतमा विचाराधीन रहेको व्यक्ति तथा संस्थाहरुलाई समेत बैंकले कर्जा दिएको छ । महालेखाका अनुसार उक्त बैंकले ऋण असुली न्यायाधिकरणबाट भएको निर्णय कार्यान्वयन नभएको आदि विवादित र कमसल धितो राखी विभिन्न १७ संस्थालाई दुई अर्ब ४४ करोड ६६ लाख ऋण प्रवाह गरेको छ । उक्त ऋणको ब्याज मात्र अहिलेसम्म ३३ अर्ब पाँच करोड १९ लाख रुपैयाँ पुुगेको छ ।
महालेखाले आफ्नो ५८ वार्षिक प्रतिवेदनमार्फत भनेको छ, ‘उक्त ऋण प्रवाह गर्ने पदाधिकारीहरुलाई जिम्मेवार बनाई समयमा नै कर्जा असुुली गर्नुुपर्छ ।’ महालेखाले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेको कर्जामा समस्या देखाइरहँदा राष्ट्रिय वाणिज्य बैंक स्वयंले भने आर्थिक वर्ष २०७६÷०७७ मा तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । अघिल्लो बैंकको यस्तो खुद मुनाफा चार अर्ब ३७ करोड रुपैयाँ थियो । यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेपतर्फ आकर्षक ब्याज प्रदान गरिएको कारण खुद ब्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको प्रस्ट्याएको छ ।
बैंकले आव २०७७÷०७८ को खुद ब्याज आम्दानी आठ अर्ब २४ करोड जनाएको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी नौ अर्ब ४५ करोड रुपैयाँ थियो । यसैगरी बैंकको कुल सञ्चालन आम्दानी नौ अर्ब ७६ करोड रहेकोमा अघिल्लो यस्तो आम्दानी वर्ष १० अर्ब ७० करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भए पनि बैंंकको लगानीमा भएको मूल्यअभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको जानकारी बैंकले दिएको छ ।
बैंकका अनुसार २०७८ असार मसान्तमा बैंकको ग्राहक निक्षेप दुुई खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट एक खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४ दशमलव ३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आव २०७७÷०७८ मा बैैंंकको सेयरधनी कोष सात अर्ब १५ करोडले वृद्धि भई ३० अर्ब १८ करोड र कुल सम्पत्ति ४४ अर्ब रुपैयाँले वृद्धि भई तीन खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तसम्ममा पुँजी कोष अनुपात १४ दशमलव ३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुँजी अनुपात प्रतिशत, आधार दर पाँच दशमलव ४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात तीन दशमलव सात प्रतिशत, ब्याजदर अन्तर चार दशमलव ३७ प्रतिशत, कोषको लागत दर तीन दशमलव २४ प्रतिशत तथा प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३२ पैसा रहेको बैंकले जानकारी दिएको छ ।