काठमाडौँ ।युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आइरहेको एसियन कंक्रिटोले नेपाल गुणस्तर मापदण्डअनुसार पनि उत्पादन सुरु गरेको छ ।यस्ता किसिमका निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले वैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएपछि सोही मापदण्डअनुसार विभिन्न सामग्री उत्पादन गर्दै आइरहेको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए । उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ ।
यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो प्रडक्ट हो । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०÷९० प्रतिशतसम्म खपत हुने गरेको छ । यदि सरकारले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको प्रडक्ट मात्रै प्रयोग गरेमा सरकारको अर्बौँ रुपैयाँ वार्षिक मर्मतसम्भारबापत खर्च हुने रकम जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट श्यामल झाले जानकारी दिए ।
कम्पनीका अनुसार उद्योगले बनाइरहेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फुटफथदेखि सहरी क्षेत्रका भित्री सडक बनाउन पनि सकिन्छ । विश्वका कैयौँ मुलुकमा भित्री तथा सहरका मुख्य सडक नै इन्टरलक ब्लकबाट बनाइएका छन् । नेपालमा पनि यस्ताखाले गुणस्तरीय इन्टरलक ब्लकबाट भित्री तथा सहरी सडक बनाउँदा टिकाउ, दिगोपना, वातावरणमैत्री र मर्मतसम्भारमा लाग्ने खर्च समेत जोगाउन सकिने झाको भनाइ छ ।
सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरिसकेको सुख्खाबन्दरगाहमा एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरलक ब्लक प्रयोग भइसकेको छ । तर, चोभारमा सुख्खाबन्दरगाह बनाउन थालिसक्दा नेपालमा यससँग सम्बन्धित न मापदण्ड नै थियो, न त उद्योग । विश्व बैंकका परामर्शदाताहरुले यस्ता किसिमका पूर्वाधारका लागि विश्वमा प्रचलित मापदण्डअनुसार स्पेसिफिकेसन बनाएको देखिएको झाले जानकारी दिए । तर अहिले सरकारले यससम्बन्धी मापदण्ड बनाइसकेको छ ।
अब सरकारले निर्माण गर्ने पूर्वाधारमा इन्टरलक ब्लकको प्रयोगलाई बढावा दिनुपर्ने उनले बताए । सुख्खा बन्दरगाहमा यार्ड तयार गर्ने ठाउँ बनाउन इन्टरलक ब्लकको प्रयोग सम्भव हुन्छ भने सहरका भित्री सडकलगायत अफिस प्राङ्गण बनाउन कुनै समस्या नहुने उनको भनाइ छ ।