काठमाडौँ ।एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायत विभिन्न फाइदा लिन सक्छन् ।
कम्पनीका अनुसार यो योजना मंगलबारदेखि सञ्चालनमा आएको छ । एसईई २०७८ को परीक्षा प्रवेशपत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्छन् । यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन एक सय ५० एमबी डेटा पाउँछन् । त्यसैगरी ५० रुपैयाँ वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा छ महिनासम्म विभिन्न बोनस सुविधाहरूको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीहरूले तीन दिन मान्य हुने पाँच सय एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनसस्वरुप प्राप्त गर्छन् ।
विद्यार्थीहरूलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् । भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनसबाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरूले आफूलाई सधैँ सम्पर्कमा रहिरहनुपर्ने अधिकतम पाँचवटा एनसेल नम्बरहरू सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् । नम्बरहरू माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरूले पहिलो ३० दिनसम्म ती नम्बरहरूमा मात्र ५० पैसा प्रतिमिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि एक सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउनेछ ।
विद्यार्थीहरूले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैँ सम्पर्कमा रहनुपर्ने पाँचवटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा पाँचवटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक पाँच रुपैयाँ शुल्क लाग्नेछ । एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विभिन्न सेवाहरू बन्डल गरिएको यो पहिलो सिम योजनाले विद्यार्थीहरूलाई साथीभाइ, परिवारजनसँग सम्पर्कमा रहिरहन र मोबाइल इन्टरनेटको माध्यमबाट विश्वसँग जोडिन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।