काठमाडौँ ।वीरगञ्ज पथलैया औद्योगिक करिडोर, सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा तोडफोड गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ ।महासंघका अनुसार उक्त उद्योगमा भदौ ११ गते बिहान स्थानीय जनता नै जबर्जस्ती उद्योगपरिसरमा प्रवेश गरी तोडफोड गरेका थिए । उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुुधारमा समेत निकै ठूलो सहयोग पु¥याइरहेको महासंघले जनाएको छ ।
तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जबर्जस्ती उद्योगपरिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनुु अत्यन्त दुःखद कुरा भएको महासंघको भनाइ छ । भदौ ११ गते बिहान १०ः१५ बजे उद्योगको अमोनिया ग्यास ट्यांकबाट ग्यास लिक भएको घटनालगत्तै उद्योग परिसरभित्र स्थानीयहरू बलजफ्ती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ ।
‘वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुँदै तोडफोड हुनु दुर्भाग्यपूर्ण हो । यसले एकातिर उद्योग र स्थानीय जनताबीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोबल खस्किने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जानेतर्फ महासंघको गम्भीर चिन्ता छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तोडफोड कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानुनका दायरामा ल्याई कारबाही गर्न र उद्योग पूर्वावस्थामै सञ्चालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग पु¥याउन महासंघले तीनै तहका सरकारसँग आग्रह गरेको छ ।