काठमाडौँ ।कोभिड १९ को महामारीका कारण १७ प्रतिशत होटल पूर्ण रूपमा बन्द भएको होटल व्यवसायीहरूले बताएका छन् । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा गरेको छलफलमा होटल व्यवसायीहरूले उक्त जानकारी दिएका हुन् । यसैगरी छलफलमा पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक÷मजदूरको रोजगारी जोखिममा परेको व्यवसायीहरूले जानकारी गराएका थिए ।
परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघसंस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरेका हुन् । छलफलमा सहभागीहरूले कोभिड १९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन् । उनीहरूले देशव्यापीरूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघ÷संस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन् ।
व्यवसायीहरूले पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन् । यसैगरी पीसीआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ । कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताए । ‘हामी तपाईंहरूसँग छौँ, जति पनि समस्या छन् तिनीहरूको समाधानका लागि पहल गर्छौँ,’ उनले भने ।