विराटनगर ।विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडक खण्डमा पर्ने विराटनगरको हाटखोलास्थित सिंघीया पुल जीर्ण अवस्थामा रहेकोले उक्त पुलको जीर्णोद्धार र क्षमता विस्तारका लागि मोरङ व्यापार संघले माग गरेको छ ।मोरङ–सुनसरी आर्थिक कोरिडोरअन्तर्गत कटहरी गाउँपालिकालगायत आसपासका क्षेत्रमा सञ्चालनमा रहेका सयौँ उद्योग, कल–कारखानाहरू र मोरङका पूर्वी भेगका अधिकांश बजारहरूलाई प्रादेशिक राजधानी, औद्योगिक नगरी एवं व्यावसायिक केन्द्र बिन्दु विराटनगर महानगरपालिका र विराटनगर भन्सार नाकासँग जोड्न सो पुलको भूमिका अत्यन्त महत्वपूर्ण रहेको संघको भनाइ छ ।
लामो समयदेखि सो पुललाई सामान्य जीर्णोद्वार मात्र गरिँदै आएको तथा विगतका बाढीहरूका कारण उक्त पुल थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेकोले समयमै कदम चाल्न संघका अध्यक्ष प्रकाश मून्दडाले सरकारको ध्यानाकर्षण गराएका छन् । यस कोरिडोरका आर्थिक क्रियाकलापहरूमा कटहरी गाउँपालिकासहित आसपासका पूर्वी क्षेत्रको अधिक योगदान रहँदै आएको र सो क्षेत्रमा औद्योगिक प्रयोजनका मालवाहक र सार्वजनिक सवारी साधनहरूको आवागमनको चाप समेत दिनानुदिन बढ्दै गई रहेको उनले बताए ।
उक्त पुलको जीर्ण अवस्थाका कारण ठूलो दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरी सो पुलको समयमै जीर्णोद्वार र क्षमता विस्तारका कार्यहरू तत्कालै थालनी गर्न हाल संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रदेश नं. १ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार गरी आग्रह गरिएको संघले जनाएको छ ।