सोलु ।जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाले भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्ने भएको छ । मंगलबार बसेको शिक्षा समितिको बैठकको निर्णयअनुसार भदौ २७ गतेबाट विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राई जानकारी दिए ।
उनका अनुसार डब्लूएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरिनेछ । बैठकले भदौ २६ सम्ममा विद्यालय वरपर र शौचालयको सरसफाइ गर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्ने निर्णय गरिएको राईले बताए । सबै अभिभावक र विद्यार्थीहरूसँग आवश्यक समन्वय र सम्पर्क गर्ने, सबै शिक्षकहरू विद्यालय पुगेर शैक्षिक सामग्रीहरूको आवश्यक तयारी गर्नेलगायतको निर्णय भएको उनको भनाइ छ ।
यता जिल्लाको सोताङ गाउँपालिकाले मंगलबारबाट भौतिक उपस्थितिमा पठनपाठन सुचारु गरेको छ । पालिकामा कोरोना संक्रमण अवस्था सामान्य बन्दै गएको भन्दै सबै विद्यालयहरू सञ्चालन गरेको गाउँपालिका अध्यक्ष बिरबहादुर राईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका निजी तथा सामुदायिक गरी २१ वटा विद्यालयमा करिब तीन हजार विद्यार्थीहरू अध्ययनरत छन् । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा अन्य स्थानीय तहहरू पनि कोरोना महामारी अवस्था हेरेर विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् ।