काठमाडौँ ।सुन्दा पनि डरलाग्दो लाग्ने एउटा घटना भयो करिब एक हप्ता पहिले । सामान्यतया यसप्रकारले मान्छेको ज्यान लिइन्छ भन्ने कसैले सोचेका पनि थिएनन । तर भयो त्यस्तै । सुदूरपश्चिम दार्चुलाका नेपाली नागरिक तुइनबाट महाकाली नदीमा खसे । यो कुनै भवितव्य थिएन । महाकाली नदीको १४ स्थानमा यसरी नै तुहिनमा वारपार गरिरहेका हुन्थे नियमित रूपमा नै धेरै मानिस । तर त्यसदिन भारतीय सुरक्षाकर्मीको उपध्रोका कारण हेर्दाहेर्दैै एक जना उर्लँदो महाकालीको बाढीमा खसे । यो तुइन चुँडिएर होइन चुँडाइदिएर यस्तो भवितव्य हुनगयो । जब मान्छे नदी तर्दै थिए, मध्य ठाउँमा पुगेपछि छिमेकी देशका एक जना मान्छेले फलामको तार नै काटिदिएर एउटा ज्यान भेलमा विलीन भयो । ओल्लो किनारबाट तुइन चढेर उनी पल्लो किनार पुग्नै लाग्दा यो दुःखद घटना भयो ।
सरकारले गठन गरेको छानबिन समितिका अनुसार यस्तो घटना भारतीय सुरक्षाकर्मी एसएसबीले गरेका हुन् । जुन बेला यो घटना भयो त्यसका प्रतक्षदर्शीले पनि यसै भनेको थिए । तुइनबाट महाकाली तर्दै गर्दा त्यसको तार काटियो र नेपाली नागरिक महाकालीको भेलमा विलीन भए । हालै बुझाइएको प्रतिवेदनका बारेमा गृहका प्रवक्ताले भनेका छन्, ‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।
यो ठाउँमा समितिले सुरक्षाकर्मीको उपस्थितिमा भएको घटना भनेको छ तर यो उपस्थिति होइन स्वयं सुरक्षाकर्मीले नै मान्छे चढेको देख्दादेख्दै तुइन काटिदिएका हुन् । यसका प्रत्यक्षदर्शी छन् । तुइन तारिरहेका वल्लो किनारका मान्छेले पल्लो किनारमा तार काटिरहेका देखिरहे । त्यो क्षणदेखि नै तुइनबाट मान्छे तारिरहेका नेपाली यो भयंकर घटनाको वर्णन गरिहेका छन् । त्यसकारण मारतीय सुरक्षाकर्मीको उपस्थितिमा होइन स्वयम् सुरक्षाकर्मीका कारण नै यो घटना भयो । विवरणहरूले त्यही कुरा बताउँछ । जुनबेला तुइनको तार काटियो त्यसबेला तुइनमा मान्छे चढेका भन्ने देखिरहिएको थियो त्यसकारण यो घटना जानाजान गरिएको वा रचिएको अवस्था हो । जब प्रत्क्षदर्शी आफैँ घटनाको वर्णन गर्न उपस्थित छन् भने सरकारलाई घटनाबारे निष्कर्षमा पुग्न थप विवरण नचाहिएला । खाँचो हो नेपाली नागरिक मारिएको यो घटनामा सरकार संवेदनशील हुनु ।
एक महिनाअघिको कुरा हो । गएको साउन १५ मा महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन् । उनलाई तारिरहेका व्यक्तिले नै देखिरहेका छन् भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेका हुन् । त्यस कारण यो घटनालाई हत्या भएको भनिएको हो । सरकार या घटनामा मौन बस्न हुँदैन । देखादेखी मान्छे मारिएको घटना सामसुम भयो भने यस्ता घटना निरन्तर दोहोरिने सम्भावना हुन्छ । त्यसकारण सरकारले यो हत्याकाण्डका दोषीमाथि कारबाही सुरु गर्नुपर्छ । त्यस्तो भएन भने यस्ता काण्डहरूले प्रोत्साहन पाउँदै जान्छन् र भोलि फेरि कसको ज्यान जाला भनी पर्खिनुपर्ने अवस्था हुनसक्तछ । यसलाई रोक्न पनि सरकार कडारूपमा प्रस्तुत हुनुपर्छ नत्र दर्जनभन्द बढी ठाउँबाट तर्नुपर्ने तुइन कुन दिन कहाँ काटिन्छ र कसले यस्तो डरलाग्दो रूपको मृत्युवरण गर्नुपर्ने हो भन्ने दुःखद समाचारको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।