काठमाडौँ ।कुल जनसंख्याको २४ प्रतिशत जनता बीमाका दायरामा आएका छन् । बीमा समितिले नेपालमा बीमाको पहुँच सम्बन्धमा बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७८ साउन मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या २४ दशमलव ९९ प्रतिशत पुगेको हो ।२०७७ साउन मसान्तमा भने यस्तो संख्या २२ दशमलव ३१ प्रतिशत रहेको समितिले जनाएको छ । समितिका अनुसार पछिल्लो समय नेपालमा जीवन बीमा गर्नेहरुको संख्या पनि बढेको छ ।
समितिका अनुसार २०७८ साउन मसान्तसम्ममा बीमासम्बन्धी विवरणअनुसार २०७७ साउन मसान्तको तुुलनामा २०७८ साउनमा जीवन बीमा गर्नेहरुको संख्या आठ दशमलव ४० प्रतिशतले बढेको हो ।‘२०७७ साउन मसान्तमा ७० लाख ६१ हजार दुई सय ३८ वटा बीमा लेखको संख्या पुुगेकोमा २०७८ साउनको यस्तो संख्या ८० लाख नौ हजार छ सय ३४ पुुगेको छ ।
यो भनेको गत आवको तुुलनामा १३ दशमलव ४३ प्रतिशतले बढी हो’, समितिले भनेको छ । यसैगरी वैदेशिक रोजगार बीमा संख्या पनि २०७७ साउन मसान्तमा आठ लाख ६० हजार पाँच सय १९ रहेकोमा २०७८ साउन मसान्तमा ३२ दशमलव ९० प्रतिशतले घटेर पाँच लाख ७७ हजार सात सय १० मा झरेको छ । कुुल जीवन बीमा लेखको संख्या भने २०७७ साउन मसान्तमा ७९ लाख २१ हजार सात सय ५७ रहेकोमा आठ दशमलव ४० प्रतिशतले बढेर २०७८ साउन मसान्तमा ८५ लाख ८७ हजार ४४ पुुगेको छ ।
समितिका अनुसार कुुल निर्जिवन बीमा लेखको संख्या भने २०७७ साउन मसान्तमा दुई लाख ४१ हजार चार सय ३८ रहेकोमा शून्य दशमलव १७ प्रतिशतले बढेर २०७८ साउन मसान्तसम्ममा दुुई लाख ४१ हजार आठ सय ३७ पुगेको छ ।