दोलखा, माघ १२
बैतेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको स्थायी केन्द्र पाडुडाँडा जोड्ने करिब साढे तीन किलोमिटरको नमूना कृषि सडक निर्माण सम्पन्न भएको छ । बैतेश्वर गाउँपालोकाको ३ नम्बर वडा हुँदै चल्ने सो सडक गाउँपालिकाले उपभोक्ता समिति बनाएर छोटो समयमा नै निर्माण सम्पन्न गरेको हो । गाउँपालिकाभित्रका चारवटा वडालाई पायक पर्ने गरी गाउँपालिका केन्द्र जोड्ने छोटो दूरीको कृषि सडक गाउँपालिकाभित्रकै नमूना सडक निर्माण भएको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।
अध्यक्ष लामाका अनुसार कृषि सडक निर्माण गर्न केही स्थानीय किसानको खेत परे पनि कृषि सडक निर्माणले भविष्यमा सडक दुःख कम हुने र उत्पादनले सहज रूपमा बेसीका किसानले कृषि सडकबाट ठूलो फाइदा लिनेछन् । पालिकाभित्रका वडा १, २, ३ र ४का वडालाई लक्षित गरेर छोटो दूरीको छ मिटर फराकिलो सडक निर्माण भएको हो । करिब १२ सय स्थानीय किसानलाई पायक पर्ने गरी नयाँ कृषि सडक खन्न लागिएको बैतेश्वर गाउँपालिका कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष एम कुमार तामाङले जानकारी दिए ।