काठमाडौँ ।दुर्गम क्षेत्रका जनजाति समुदायका गरिब तथा अति विपन्न परिवारका बालबालिकाहरूको पठनपाठन तथा गाँस र बाँसको लागि विभिन्न दाताहरूको सहयोगमा वीरगञ्ज १० बजरंगटोलमा निर्माण गरिएको जनजाति कल्याण आश्रमअन्तरर्गत आमाको माया छात्रावासको एक कार्यक्रमका बीच भव्य रूपमा उद्घाटन गरिएको छ ।
दाताहरूको सहयोगमा उपलब्ध गराइएको करिब २४ धुर जग्गामा दाताहरूको ८० लाखको सहयोगमा आमाको माया छात्रावास निर्माणसम्पन्न भएको थियो । भवन निर्माण पूर्णरूपमा सम्पन्न भए पनि बिहीबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।छात्रावासको भवनमै आयोजना गरिएको समारोहमा भवन तथा जनजाति कल्याण आश्रम, नेपालको केन्द्रीय कार्यालयको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक सोमायाजुलू र वरिष्ठ समाजसेवी मुरलीधर रुगंटाले संयुक्त रूपमा उदघाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर सरावगीले पश्चिमीहरूको प्रभावले गर्दा नेपालको मूल धर्म संस्कृति संकटमा पर्न थालेको आरोप लगाए । सबैलाई थाहा छ, अहिले कुन उद्देश्यले मेसिनेरीहरू नेपालमा परिचालित छन्, उनले भने, ‘इसाई मेसिनरीले गरिब विपन्नताको मौका उठाएर धर्मसंस्कृतिमाथि ठाडौ नै प्रहार गर्ने काम गरेको हुनाले यसको मुहतोड जवाफ दिनुपर्छ ।’मेयर सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावासमार्फत गरिब तथा अतिविपन्न परिवारको शिक्षादीक्षा तथा बाँसगाँसको लागि पु¥याउँदै आएको योगदान सराहनी रहेको बताए । उनले वीरगन्ज महानगरपालिकाबाट सहयोग गर्न नसके पनि आउँने दिनमा व्यक्तिगत रूपमा पनि यस्ता पुन्य कार्यको लागि योगदान पु¥याउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक सोमायाजुलूले छात्रावासको परम्परा नयाँ नभई पुरानो ऐतिहासिक गुरुकुलको नामले वनवास क्षेत्रमा सञ्चालन हुँदै आएको बताए । उनले गुरुकुलमार्फत छात्रछात्रालाई वेद तथा रामायणको बारेमा शिक्षा प्रदान गरी असल व्यक्तिको निर्माण गर्ने काम हुनेगरेको बताए । अहिले पनि छात्रावासको माध्यमले गरिब तथा विपन्न परिवारको बालबालिकालाई शिक्षाप्रदान गरी समाजमा असल व्यक्ति निर्माण गर्ने काम गरिन्छ । उनले भने, ‘छात्रावासबाट शिक्षादीक्षा प्राप्त गरी असल व्यक्ति निर्माण भए पनि त्यही व्यक्तिले देश, समाज र जनताको हितमा काम गर्ने गरेका छन् ।’
जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले जनजाति कल्याण आश्रमले देशमा रहेका ३८ प्रतिशत रहेको जनजाति समुदायमध्ये केहि प्रभावित जनजातिहरूलाई मुल प्रभावमा ल्याउने काम गरीरहेको बताए । उनले, ‘दुई दशक पहिले वीरगञ्जबाट सुरु गरिएको छात्रावास अहिले देशको विभिन्न १० वटा जिल्लामा संगठन विस्तार गरी ३० जिल्लाका शिक्षा क्षेत्रको पहुँचबाट टाडा रहेका सयौँ बालबालिकाहरूलाई निःशुल्क रूपमा शिक्षा प्रदान गर्दै आएको बताए ।