काठमाडौँ ।तत्कालीन राजा वीरेन्द्रको दरबार हत्याकाण्डबाट वंशनाश भएपछि नेपाल ट्रष्टमा जानुपर्ने दरबारको लगानीमा सञ्चालित होटल डेला अन्नपूर्णको स्वामित्व चोरबाटोबाट सरोकार नै नभएका कपिल राणाको नाउँमा सारेर राखिएको चल÷अचल सम्पत्ति त्यसको कार्यकारी निर्देशक बनाइएकी राणाकी पत्नी सृजना राणाले भित्रभित्रै बिक्री गरेको थाहा भएको छ ।
नेपाल ट्रष्टको समेत थोरै स्वामित्व रहेको उक्त होटलका पुराना बहुुमूल्य सामानहरु होटल कुुरुवाका रुपमा रहेकी राणाले नेपाल ट्रष्टको अध्यक्ष येन्जोम शेर्पासँगको साँठगाँठमा कोरोना महामारीको मौका छोपी भित्रभित्रै बिक्री गरेकी हुुन् । अध्यक्ष शेर्पासँगको मिलेमतोमा नेपाल ट्रष्टका सचिव राजेन्द्र पौडेललाई समेत थाहै नदिई त्यसरी पुराना बहुुमूल्य सामान बिक्री गरिएको हो ।
गत आइतबारदेखि होटल डेला अन्नपूर्णबाट त्यसरी पुराना बहुमूल्य सामान बिक्री गर्न थालिएको हो र यो क्रम गत शुक्रबारसम्म जारी छ ।
होटलमा कार्यरत जावलाखेल निवासी मुन्नी राणाले सामान किन्ने व्यक्ति खोजेर ल्याएको थाहा भएको छ । अमेरिकी दूतावासमा माली भएर काम गरिसकेकी राणा अहिले होटल अन्नपूर्णमा पनि त्यही पदमा कार्यरत छन् ।
होटल डेला अन्नपूर्णमा रहेका पेन्टिङ, सोफा, बत्ती, फोटो, फ्रेम, फर्निचर, टेबल, कुर्सी, कार्पेट, झ्याल, ढोका, स्विमिङ पुुल छेउको टायललगायतका करोडौँ रुपैयाँ मूल्यका पुराना एवं बहुमूल्य सामान भित्रभित्रै बिक्री गरिएको हो ।आर्थिक दैनिक