काठमाडौँ ।निजी विमान कम्पनीसँगको मिलेमतोमा आन्तरिक उडान बन्द गरेर कर्मचारीहरुलाई कामविहीन बनाएको आरोप खेप्दै आएका नेपाल वायुसेवा निगमका प्रबन्धनिर्देशक (एमडी) डिम प्रसाद पौडेलले पछिल्लो समय निगममा कर्मचारी बढी र विमान सञ्चालन नहुँदा घाटा परेको दाबी गर्दै यसलाई कानुनी रुपमा नयाँ तरिकाले सञ्चालन गर्नुपर्ने भन्दै निगमलाई बन्द गर्न लबिङ्ग सुरु गरेका छन् ।
प्रबन्धनिर्देशक पौडेलले निगमलाई बन्द गर्नुपर्ने सिधै नबताए पनि राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्नपुगेको दाबी अर्थमन्त्री जनार्दन शर्मासँग गर्दै निगमलाई नयाँ तरिकाले लैजान कर्मचारी कटौतीमा पनि जोड दिएका छन् ।प्रबन्धनिर्देशक पौडेलले यही तरिकाले निगम सञ्चालन गर्नै नहुने तर्क गरेका छन् । पौडेलको दाबी मात्र होइन निगमलाई अन्तर्राष्ट्रिय उडानका लागि नयाँ गन्तव्य नखोज्ने र आन्तरिक उडानका विमानको संख्या घटाउँदै लगेर नयाँ गन्तव्य नखोज्ने हो भने निगम लामो समयसम्म सञ्चालन हुन कठिन हुने निश्चितजस्तै छ ।
निगमको विमानको उडान कटौती कर्मचारीको कारणबाट नभई स्वयं एमडी पौडेललगायत सञ्चालक समितिको कमजोरीले भएको हो । व्यवस्थापनले स्वदेशी तथा विदेशी उडानका सबै विमान सञ्चालन गरेको भए आर्थिक रुपमा निगम थप मजबुत हुने थियो । तर, व्यवस्थापनले विमानको उडान कटौती गरेको कारण निगमको वित्तीय अवस्था थप कमजोर बन्न गएको हो ।अहिले निगमको वित्तीय अवस्था कमजोर बन्नुमा कर्मचारीको नभई निगमको नेतृत्व गरेको कारण प्रबन्धनिर्देशक पौडेलको टाउकोमा सबै दोष जान्छ । कर्मचारी विमानको उडान र नयाँ गन्तव्य खोज्न व्यवस्थापनलाई दबाब दिन्छ भने व्यवस्थापन भने कर्मचारीसँग सम्झौता गरेर पनि उडानका नयाँ गन्तव्य खोज्दैन । यदि व्यवस्थापनले नयाँ गन्तव्य खोजेर कर्मचारीले विमान उडानमा सहयोग गरेका थिएनन् भने घाटाको दोष कर्मचारीमा जाने थियो । तर, निगममा उल्टो काम भएको छ ।
व्यवस्थापन उडान कटौती गरेर विमान थन्क्याएर राख्न चाहन्छ भने कर्मचारीहरु विमानमा खिया लगाएर राख्न हुँदैन सञ्चालन गर्नुपर्छ भनेर आन्दोलित छन् । व्यवस्थापनले कर्मचारी युनियनसँग विमान सञ्चालन गर्छु भनेर सम्झौता पनि गर्छ तर विमान भने उडाउँदैन । त्यही भएर निगमको वित्तीय अवस्था कमजोर बनेको छ । यसलाई सुधार गर्न निगममा पुनर्संचना गर्नैपर्छ । सुरुवात नेतृत्वबाट नगरेमा निगम धराशायी हुने कर्मचारी युनियनका नेताहरु नै बताउँछन् ।
‘निजी क्षेत्रका विमान कम्पनीसँग मिलेमतो गरेर सञ्चालन गर्न मिल्ने निगमका विमानलाई खिया लगाएर राख्ने प्रबन्धनिर्देशक हटाएर निगमको पुनर्संरचना सुरु गर्नुपर्छ’, निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले शनिबार आर्थिक दैनिकसित भने, ‘सबै विमान सञ्चालन गर्ने हो भने अहिलेको कर्मचारी संख्या नै अपुग हुन्छ ।’ तर, प्रबन्धनिर्देशक पौडेलले भने शुक्रबार अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा विश्वका विभिन्न एयरलाइन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको जानकारी गराएका थिए ।
प्रबन्धनिर्देशक पौडेलको भनाइ र दाबीमा निगमको ट्रेड युनियनको पूर्ण असहमति रहेको माओवादीनिकट कर्मचारी युनियनका अध्यक्ष राजु श्रेष्ठले पनि जिकिर गरे । ‘एमडी पौडेलको दाबी गलत छ’, अध्यक्ष श्रेष्ठले आर्थिक दैनिकसित भने, ‘कतार एयरलाइन्सको एक विमान बराबर दुई सय ३१ र पाकिस्तान एयरमा एक विमान बराबर पाँच सय जना कर्मचारी छन् । विश्वका अन्य देशमा पनि त्यस्तै छ । निगमका विमान बन्द गरेर राखेर निजी कम्पनीका विमानलाई निर्बाध चलाउन दिने अनि निगममा कर्मचारी धेरै भएको गलत तथ्यांक पेश गर्ने कार्य गलत मनसायबाट आएको छ । निजी क्षेत्रसँग मिलेर निगम डुबाउन खोज्नेलाई कुनै हालतमा पनि कार्यालयमा प्रवेश गर्न दिँदैनौँ ।’ अध्यक्ष श्रेष्ठले निगमलाई घाटा देखाएर बन्द गराउन लगाउने खेलमा एमडी पौडेल लागेको पुष्टि हुँदै गएको कारण अबका दिन थप सशक्त आन्दोलन हुने जिकिर नै गरे ।
निगमको आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थीका अनुसार १२ सय ४३ जना कर्मचारीमध्ये पाँच सयभन्दा बढी त विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्गको कार्यमा खटिएको भन्दै सबै १३ वटा विमान चलाउने हो भने निगमको कर्मचारी संख्या नै अपुग हुने दाबी गरे । उनका अनुसार अहिले निगमसँग भएका आन्तरिक तथा बाह्य उडानका सबै विमान सञ्चालन गर्ने भने एक विमानसँग एक सय कर्मचारी पनि हुँदैन । किनकि पाँच सयभन्दा बढी त ग्राउण्ड ह्याण्डलिङको काममै व्यस्त हुनुपर्छ । कोभिड–१९ मा नियन्त्रण हुने हो भने नेपालमा २८ वटा विमान कम्पनीका दैनिक ५५ देखि ६५ अन्तर्राष्ट्रिय उडान हुनेछ ।
स्वदेशी तथा विदेशी निजी क्षेत्रका विमान कम्पनीहरुको सक्षम तथा चुस्त कर्मचारी र सवल आर्थिक अवस्थासँग निगमले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । त्यही भएर निगमको पुनर्संचरना गर्नुपर्ने आवश्यकता सबैतिरबाट महशुस भएको छ । तर, निगमका एमडी पौडेल भने आन्तरिक उडानका विमान थन्क्याएर राख्ने र अन्तर्राष्ट्रिय उडानमा पनि नयाँ गन्तव्य खोज्ने कुनै पहल गरेका छैनन् । निगमको उडान कटौतीले स्वदेशी तथा विदेशी निजी क्षेत्रलाई लाभ भएको छ । एमडी पौडेलका अधिकांश कदम निगमलाई सबल र सक्षम बनाउनेभन्दा पनि उडान कटौती गर्ने र सञ्चालनमा रहेका विमानलाई नयाँ गन्तव्य खोज्न ध्यान नदिँदा निगमको घाटाको मुख्य दोष उनलाई नै गएको छ ।
आफ्नो कमजोरी वा मिलेमतोमा विमानको उडान कटौती गरेर थन्क्याउँदा निगम अहिले विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्गको आम्दानीबाट मात्र टिकेको छ ।यदि निगममा आन्तरिक र बाह्यतर्फका सबै विमान सञ्चालन गर्ने हो भने अहिलेको कर्मचारी संख्या कटौती होइन थप गर्नुपर्ने निगमका आधिकारिक ट्रेड युनियन र उच्च तहका अनुभवी कर्मचारीहरुको जिकिर छ । तर, एमडी पौडेल भने विमानको संख्या र कर्मचारीको संख्याको हिसाब गरेर कर्मचारी कटौतीमा जोड दिन थालेका छन् । एमडी पौडेलले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मालाई नै सञ्चालनमा रहेका विमानको संख्या र कर्मचारीको तथ्यांक पेश गरी भ्रममा पार्ने काम गरेका छन् । यसले ६४ दिनदेखि आन्दोलनरत कर्मचारीहरु थप आक्रोशित हुने देखिएको छ ।
कर्मचारीको आन्दोलन जारी रहने र निगमका एमडी पौडेलले कर्मचारी कटौतीलगायतका विषय उठाउँदै जाने हो भने निगमको वित्तीय अवस्था थप कमजोर हुनेछ । एमडी पौडेलको उक्त दाबी मानेर सरकारले अहिले विमान छैन भनेर निगमका कर्मचारी हटाउने र पछि विमान किन्ने भनेर सरकारले भन्दा कर्मचारी छैन तत्काल खरिद गर्नुहुन्न भनेर तिनै प्रबन्धनिर्देशक पौडेलले अवरोध गर्ने देखिन्छ । एमडी पौडेलको योजना निगमलाई नयाँ विमान र नयाँ गन्तव्यको खोजी गर्नुभन्दा पनि भएका विमानको उडान कटौती र नयाँ गन्तव्य नखोज्ने देखिन्छ । यसले निजी क्षेत्रका विमान कम्पनीलाई मनग्य लाभ हुन्छ भने राष्ट्रिय ध्वजावाहक निगम करिब विघटनको अवस्थामा पुग्नेछ ।
एमडी पौडेलले गत वर्ष पदभार ग्रहण गरेको दिनको कुरा पत्याउने हो भने अहिले निगममा कार्यरत कर्मचारीको संख्या नै कम हुने थियो । उनले निगममा गत वर्ष अर्थात् २०७७ असोज २६ गते सोमबार एमडी पदभार ग्रहण गर्दा निगममा विमान थप गरी सञ्चालन गरेर मुनाफाको प्रत्याभूति दिने दाबी गरेका थिए ।
पौडेलले त्यसको ठीक विपरीत निगमका आन्तरिक तर्फका प्रायः सबैजसो उडान बन्द गरेर निजी क्षेत्रका विमान कम्पनीलाई मालामाल पैसा कमाउने बाटो खोलिदिएका छन् । उनले नयाँ विमान खरिद गरेर चलाउनेभन्दा पनि निजी क्षेत्रका विमान कम्पनीसँग भित्रभित्रै मिलेर निगममा भएका विमान पनि थन्क्याइदिएका छन् ।निगमले अहिले आन्तरिकतर्फ काठमाडौं र नेपालगञ्जलाई आधार बनाएर दिनको एक÷दुईवटा मात्र उडान तोकिएका केही निश्चित स्थानमा साना विमानबाट गरिरहेको छ भने अन्तर्राष्ट्रिय उडान त बन्दजस्तै छ । अन्तर्राष्ट्रिय उडानमा एयरबसका दुई वाइडबडी र दुईवटा न्यारोबडी गरी चारवटा विमान चालू अवस्थाका छन् भने एउटा बोइङ्ग बिक्रीको प्रतीक्षामा छ ।
चारवटा विमानमध्ये सरदर दुईवटा विमानले मात्र उडान भरिरहेको छ । उडान भरिरहेका विमान पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । एमडी पौडेलले नयाँ गन्तव्य खोज्नेभन्दा विमान थन्क्याउने कार्यलाई नै जोड दिएका छन् । उनी ग्राउण्ड ह्याण्डेलिङ्गको जिम्मा पनि निगमबाट खोस्ने कार्यमा लागेको देखिन्छ । निगमको कर्मचारी कटौती गर्ने भने ग्राउण्ड ह्याण्डेलिङ्गमा रहेका कर्मचारीहरुको संख्या घटाउन पर्ने हुन्छ । कर्मचारीको संख्या कम भएपछि विदेशी विमान कम्पनीहरुले सुरक्षाको प्रश्न उठाएर यो कुरालाई अन्तर्राष्ट्रियकरण गर्नेछन् । त्यसपछि सरकार ग्राउण्ड ह्याण्डेलिङ्गको जिम्मा निजी क्षेत्रलाई दिन बाध्य हुनेछ ।
अहिले एमडी पौडेल कर्मचारी कटौतीको कुरा गरेर त्यही ग्राउण्ड ह्याण्डेलिङ्गको जिम्मा निगमबाट खोस्न लागिपरेको आधिकारिक युनियनका अध्यक्ष डाँगीको आशंका छ ।शुक्रबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायुसेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका थिए ।
छलफल कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औँल्याएको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।छलफलमा निगमका प्रबन्धनिर्देशक पौडेलले नेपाल एयरलाइन्सको वर्तमान अवस्था र भावी रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गर्दै राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको जिकिर गर्दै निगम हाल ५० अर्ब ऋण तथा ११ अब सञ्चित नोक्सानीमा रहेको जानकारी दिएका थिए । उनले साढे पाँच सय कर्मचारी निगमबाट कटौती गर्नुपर्ने प्रस्ताव अर्थमन्त्री शर्मासँग गरेका थिए ।