काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका बीच सम्झौता भएको छ । यही भदौ १७ गतेका दिन आठ दशमलव ७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर ऋणपत्र २०८४–०८५ को क्रम संख्या एकदेखि १२ लाख ५० हजार सम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल १२ लाख ५० हजार कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
बैंकले सर्वसाधारणसमक्ष सानिमा क्यापिटल लि (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको यही भदौ १५ गतेको निर्णयानुसार सूचीकरण भएको हो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।