काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २१ गते अर्थात् आज सोमबार पुनः छ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यस दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही भदौ १५ गते पनि राष्ट्र बैंकले तीन अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति भदौ २२ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७८ मंसिर २१ गते र २०७९ भदौ २१ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो ।