चीन । ३० वर्षअघि झाङ कंग्युआनले आफ्नो स्निकर (रबर सोलयुक्त जुत्ता) व्यवसाय सुरु गर्दा नियमित कारखाना चलाउने अवस्था थिएन । सोही कारण उनले पश्चिम ताइवानमा खेतछेउमा रहेको एउटा सुंगुर फार्मलाई नै कारखानामा रुपान्तरण गरे । ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार आज हुआली इन्डस्ट्रियल ग्रुपका संस्थापक उनै झांग १३ अर्ब अमेरिकी डलर बराबर सम्पत्तिका मालिक भएका छन् ।
नाइक इन्क, कन्भर्स इन्क र भ्यान्स इन्कजस्ता ठूला कम्पनीकै हाराहारीमा गनिएको हुआलीले आफ्ना ग्राहकमाझ प्रतिवर्ष १८ करोड जोर जुत्ता उत्पादन गर्छ । गत अप्रिलमा शेन्जेनमा पब्लिक कम्पनीमा गएपछि हुआलीको सेयर १६२ प्रतिशतले बढेको छ । यसले कम्पनीमा परिवारसहित ८७ प्रतिशत सेयर स्वामित्व भएका झांगलाई ताइवानकै धनी बनाइदिएको छ ।
झांग अहिले एप्पल इन्कका लागि आईफोन निर्माता फक्सकन टेक्नोलोजी ग्रुपका टेरी गाउभन्दा धनी बनेका छन् । कन्ट्राक्ट म्यानुफ्याक्चरिङ (कुनै वस्तु वा त्यसका पार्टपुर्जा निर्माण वा उत्पादनका लागि अर्को कम्पनीसँग गरिने सम्झौता) मा व्यापक पैसा कमाउने ताइवानी उद्यमीहरुको यो अर्को एउटा उदाहरण हो । ‘म एउटा सामान्य गाउँमा सानो कम्पनी चलाएर हुर्किएँ’, चांग संग युआनको नामले समेत चर्चित झांगले गत मेमा ताइवानको बिजनेस विक्लीसँगको एउटा अन्तर्वार्तामा भनेका थिए । त्यसमा उनले आफूले कसरी स्निकर बिजनेस सुरु गरे भन्ने खुलाएका थिए ।
‘बितेको दशकमा त मैले आफ्नो भएजतिको बल जुत्तामै लगाएँ’, अन्तर्वार्तामा उनले भनेका थिए । झांगको जन्म सन् १९४८ मा ताइवानको किसान परिवारमा भयो । कृषि कलेजबाट स्नातक गरेपछि उनले महिलाको जुत्ता उत्पादन गर्ने कारखानामा काम गर्न थाले । त्यसबाट आर्जित रकम उनले आफ्नै कारखाना सुरु गर्न बचत गरे र सन् १९८० को दशकतिर ताइवान र दक्षिणी चीनको गुआंगदोंगमा धेरै फुटवेयर भेन्चर (सहलगानी गर्ने उपक्रम) खडा गरे ।
हुआलीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)सम्बन्धी विवरणअनुसार सन् १९९० मा झांगले हङकङका साझेदारसँग मिलेर लियाङसिङ इन्डस्ट्रियलको स्थापना गरे । त्यसको पाँच वर्षपछि सन् १९९५ मा लियाङसिङ ग्रुप हङकङमा पब्लिकमा गयो र पछि सिम्फोनी होल्डिंग्सका रुपमा पुनर्नामकरण भयो । झांगले सन् २००४ मा हङकङनजिकै चीनको झोंग्सानमा हुआलीको स्थापना गरे । पछि सन् २०१४ मा सिम्फोनीबाट उनी र उनका परिवारले सम्पत्ति खरिद गर्यो । त्यही वर्ष हुआलीको विकासका लागि उनले सिम्फोनीको निर्देशक पद पनि छोडे ।
हुआलीको अहिले भियतनाम, म्यान्मार र डमिनिकन रिपब्लिकमा व्यवसाय चलिरहेको छ । सांघाईस्थित इन्डस्ट्रियल सेक्युरिटिज कम्पनीका विश्लेषक झाओ शुलीले अगस्ट ११ मा बनाएको प्रतिवेदनअनुसार कम्पनीको सम्भावना साह्रै राम्रो छ । मध्य अवधिसम्म चर्चित जुत्ता कम्पनी नाइकले हुआलीलाई धेरै अर्डरहरु दिन सक्ने उनको आकलन छ । ‘सन् २०२० मा कोरोना महामारीले विश्व उपभोक्ता वातावरणलाई धक्का दिए पनि हुआलीले आफ्नो स्थिर क्षमता र शिपमेन्टलाई सम्हाल्न सफल भएको छ’, झाओ भन्छन्, ‘कतिपय यसको ग्लोबल फ्याक्ट्री लोकेसनहरुले समकक्षी उद्योगका तुलनामा राम्रो नाफा आर्जनमा सहयोग गरेको छ ।’
सन् २०२० को अन्त्यसम्म २१ उत्पादन कारखानाबाट गत वर्ष हुआलीले १३ अर्ब ९० करोड युआन (दुई अर्ब १० करोड अमेरिकी डलर आम्दानी) गरेको थियो । कम्पनीको खुद आय एक अर्ब ९० करोड युआन पुगेको थियो जुन अघिल्लो वर्षभन्दा ८ प्रतिशत बढी हो । तर भाइरसको अवस्था र कम्पनीको निश्चित केही मुख्य ग्राहकमा निर्भरताले यसको वृद्धिदरमा बाधा पुर्याउन सक्ने झाओ बताउँछन् । आफ्नो सफलतालाई सामान्य रुपमा लिने झांग यसले आफ्नो जीवनमा कुनै परिवर्तन नल्याउने बताउँछन् । ‘म एक निरस व्यक्ति हुँ’, झांग भन्छन्, ‘म जहाँ राम्रो छु त्यहीँ निरन्तर लागिपर्छु ।’ ब्लुमबर्गबाट भावानुवाद (आर्थिक दैनिकबाट)