काठमाडौं । सेयर बजारमा अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरको बोलिको प्रभाव देखिएको छ । अघिल्लो दिन एक सय आठ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने अर्थमन्त्री शर्माको निर्देशन कै सेयर बजार परिसुचक एक सय ६१ दसमलव ९४ अंकले उकालो लागेर दुई हजार नौ सय ८० दसमलव ७८ बिन्दुमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३१ दसमलव ४१ अंकले उकालो लागेर पाँच सय ५३ दसमलव ४० बिन्दुमा चढेको छ । अघिल्लो दिन उच्च अंकले ओरालो लागेको सेयर बजार सोहीरुपमा उकालो लाग्नुुको प्रमुख कारण अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीलाई फोन मार्फत तत्काल पुंजी बजार सुधारको लागि काम गर्न निर्देशन दिएको र गर्भनर अधिकारीले पनि बजार सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु रहेको बुझिएको छ ।
आज धितोपत्र बजारमा १३ वटा उपसमुह अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट एक नौ हजार एक सय ८२ पटकको कारोवारमा एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्येमा सबै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।