काठमाडौँ । नेपाल राष्ट्र बैंकले शर्तसहित सेयर धितो कर्जा १२ करोड रुपैयाँभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सोमबार साँझ जारी गरेको सूचनाअनुसार उद्यमी व्यवसायीले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयरसमेत धितो राख्न चाहेमासशेयर धितो राखी कर्जा लिन पाइने व्यवस्था गरिएको जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाले व्यावसायिक प्रयोजनका लागि प्रवाह भएको कर्जाका लागि अन्य सम्पत्ति धितो राखेसरह अतिरिक्त धितोका रूपमा सेयर धितो राख्नसक्ने केन्द्रीय बैंकको भनाइ छ । राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरू शीर्षक राखेर सो बारेमा स्पष्ट पार्न खोजेको छ ।
अन्य संस्थाको सेयर खरिद गर्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनका लागि सेयर धितो राखी कर्जा प्रवाह हुन सक्नेछ । त्यसमा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाका रूपमा रहेको एउटा इजाजतप्राप्त संस्थाबाट अधिकतम चार करोड र सबै इजाजत प्राप्त संस्थाबाट अधिकतम १२ करोडको सीमा लागू नहुने केन्द्रीय बैंकको भनाइ छ ।
सेयर लगानीकर्ता समूहले मार्जिन प्रकृतिको कर्जामा राष्ट्र बैंकले सीमा तोकेको भन्दै गुनासो गर्दै आएका छन् । राष्ट्र बैंकले भने मार्जिन प्रकृतिको कर्जामा केही समस्या देखिएको भन्दै सीमा तोकेको जनाउँदै आएको छ । यही विषयमा अस्पष्टता हुँदा पछिल्ला केही दिनदेखि सेयर बजारसमेत प्रभावित हुँदै आएको थियो । आइतबार उच्च अङ्कले नेप्सेमा गिरावट आएको थियो । पुनः सोमबार भने बजार सम्हालियो र नेप्से ‘बाउन्स ब्याक’ भयो ।