दोलखा । नयाँ आर्थिक वर्ष सुरु भएसँगै जिल्लाको कालिञ्चोक गाउँपालिका योजना छनोट र सम्झौता गर्न वडामै पुग्ने गरेको छ । गाउँपालिकाले अघिल्लो वर्षजस्तै गरी यस वर्ष पनि विकास शिविर आयोजना गर्दै वडामै पुगेर विकास शिविरको आयोजना गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।
दुर्गम भेगका जनतालाई लक्षित गरेर गाउँपालिकाले वडा–वडामै विकासका योजना सम्झौता गर्न पुग्ने गरेको उनले बताए । वर्षाको समयमा गाउँपालिकाभित्रका वडामा सेवाग्राही जनतालाई सेवा होस् भन्ने मुख्य उद्देश्यले यस वर्ष पनि गत भदौ १७ गतेदेखि शिविरको आयोजना गरी गाउँपालिका कर्मचारी वडामै पुगेर चालू वर्षका विकास निर्माणका योजना सम्झौता गर्न सुरु गरेको अधिकृत ओलीले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १ मा सडक, कृषि, खानेपानी, शिक्षा स्वास्थ्यलगायतका दर्जनौँ योजनाहरू सम्झौता गरेको सो वडाका कर्मचारी एवं स्थानीय बसन्त थामीले जानकारी दिए ।
त्यसैगरी यसअघि गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ मा पनि सम्झौता शिविर सम्पन्न भइसकेको छ । शिविरमा गाउँकालिका अध्यक्ष, अधिकृत, प्राविधिक र विभिन्न क्षेत्रका कर्मचारी वडामै पुग्ने गरेका छन् । भदौ १७ गतेदेखि सुरु भएको शिविर भदौ मसान्तसम्म १२ दिन चल्ने कालिञ्चोक गाउँपालिकाले जनाएको छ । भदौ २८ गतेसम्म गाउँपालिकाभित्रका ९ वटैका चालू वर्षको विकास निर्माणका योजना सम्झौता हुनेछन् ।
गाउँपालिकाले आफ्ना नागरिकलाई योजना सम्झौता गर्न आउँदा कुनै समस्या भोग्नु नपरोस् र समयको बचत होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए । अघिल्लो वर्ष पनि यस गाउँपालिकाले सबै वडामा विकास शिविरको आयोजना गरेको थियो । त्यसैगरी कालिञ्चोक गाउँपालिका अहिले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्न सुरु गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले अहिले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको लागि तथ्यांक संकलन गरिरहेको छ ।