अमेरिका । विश्व लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले अश्वेत मानिसहरुलाई आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सले जनावरसँग तौलिएपछि यसलाई अस्वीकार्य भन्दै माफी मागेको छ ।
फेसबुकको एआई सिस्टमले प्रयोगकर्ताले एउटा पत्रिका हेरिरहेको अश्वेत मानिसको भिडिओ हेरेपछि थप भिडिओको आग्रह गर्दा ‘किप सिइङ भिडिओज अबाउट प्राइमेट्स’ अर्थात् जनावरहरुसम्बन्धी भिडिओ हेरिरहनुहोस् भन्ने ‘सजेसन’ (सुझाव) दिएपछि फेसबुक विवादमा तानिएको हो ।
बीबीसीसँग फेसबुकले उक्त कार्यलाई अस्वीकार्य गल्ती भएको प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ । त्योसँगै उक्त सिस्टम ‘डिसेबल्ड’ गरी अनुसन्धान थालेको फेसबुकले जनाएको छ ।
‘जसले यस्तो खराब सिफारिस देखे उनीहरुप्रति माफी माग्न चाहन्छौँ’, फेसबुकले भनेको छ । आर्टिफिसियल इन्टेलिजेन्समा जातीय भेदभावलाई लिएर शृंखलाबद्ध रुपमा देखिएको यो पछिल्लो गल्ती हो ।
सन् २०१५ मा गुगलको फोटो एपले अश्वेत मानिसहरुलाई बाँँदर प्रजातिको जनावर ‘गुरिल्ला’सँग तुलना गरेको थियो । त्यसपछि कम्पनीले माफी मागेको थियो । त्यसपछि गुगलले उक्त शब्द खोजी नै गर्न नमिल्ने बनाएको थियो । गत मे महिनामा ट्विटरको अल्गोरिदममा पनि यस्तै जातीय विभेदसम्बन्धी समस्या देखिएको थियो ।
सन् २०२० मा फेसबुकले नयाँ समावेशी उत्पादन परिषद गठन गरेको थियो । यसबाहेक इन्स्टाग्राममा नयाँ इक्विटी टिम पनि घोषणा गरेको थियो । यसले अल्गोरिदमले जातीय भेदभावलगायत अरु विभेदपूर्ण कुरा रहे नरहेको परीक्षण गर्ने कार्य तोकिएको थियो । अश्वेत नागरिकलाई जनावरसँगको तुलना पनि फेसबुकको अल्गोरिदम इरर भएको बताइएको छ ।