अमेरिका । अन्तरिक्ष उडानमा प्रयोग हुने रकेट निर्माता स्पेस एक्सको मानवसहितको तीन दिने अन्तरिक्ष उडानको मिति घोषणा गरिएको छ । स्पेस एक्सले यही महिनाको अन्त्यतिर विश्वकै पहिलो पूर्ण यात्रुवाहक उडान गर्ने घोषणा गरेको हो ।
उक्त उडानले तीन दिनसम्म पृथ्वीको परिक्रमा गर्नेछ । यसको नाम ‘इन्स्पिरेसन४’ दिइएको छ । कम्पनीका अनुसार सेप्टेम्बर १५ मा फ्लोरिडामा रहेको नासाको केन्नेडी स्पेस सेन्टरबाट मानव भरिभराउ रकेट अन्तरिक्षमा प्रक्षेपण गरिनेछ ।
इन्स्पिरेसन४ क्रु स्पेस एक्सको फाल्कन ९ रकेट र ड्र्यागन क्याप्सुलमा अन्तरिक्ष प्रवेश गर्नेछ । यसले हरेक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्नेछ । यसको अनुगमन कम्पनीको मिसन कन्ट्रोलबाट हुनेछ । यात्रा पूरा गरेपछि ड्र्यागन क्याप्सुल फ्लोरिडाको समुद्री किनारमा खस्ने गरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ । पूर्ण यात्रुवाहक क्रुमा मिसन कमान्डर जारेद आइज्याकम्यान, मिसन पाइलट डा. सियान प्रोक्टर, मेडिकल अफिसर हेले आर्सेनाउक्स र मिसन स्पेसलिस्ट क्रिस सेम्ब्रोस्की रहनेछन् ।
आइज्याकम्यान शिफ्ट४ का सीईओ तथा संस्थापक हुन् । पहिले जेट पाइलट रहेका उनले धेरै विश्व कीर्तिमान कायम गरेका छन् । सन् २००८ र ००९ मा विश्व उडानमा दुई कीर्तिमान बनाएका थिए । मेक अ विश फाउन्डेसनका लागि सचेतनाका लागि पैसा संकलन गर्न पैसा उठाएको थियो । ब्ल्याक डायमन्ड जेट टिमको एक हिस्साका रुपमा उनले सय बढी एयरशोमा उडान भरिसकेका छन् । हरेक प्रस्तुति उनले दानका लागि रकम संकलन गर्ने उद्देश्यले गरेका थिए । त्यस्तै प्रोक्टर भने ५१ वर्षीया उद्यमी तथा तालिमप्राप्त पाइलट हुन् । उनी गुआममा जन्मिएकी थिइन् । एपोलो मिसनका दौडान उनका बाबु नासाको ट्र्याकिङ स्टेसनमा काम गर्थे ।
टोली सदस्य आर्सेनाउक्स सेन्ट ज्युड चिल्ड्रेन रिसर्च हस्पिटलकी २९ वर्षीया फिजिसियन असिस्टेन्ट हुनन् । १० वर्षमै बोन क्यान्सरपीडित उनी पछि निको भएकी थिइन् । यता ४१ वर्षका सेम्ब्रोस्की भने लकहिड मार्टिनका कर्मचारी र युनाइटेड स्टेट्स एयर फोर्सका पूर्वसदस्य हुन् ।