काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशील कृषि क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताएका छन् । कृषिमा लागेका महिला उद्यमीहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले आयोजना गरेको ‘सफलताको कथा तथा अन्तर्क्रिया कार्यक्रम’मा उनले कृषि, पर्यटन र प्रविधिलाई जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भन्सारछुटमा ढुवानी साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने आवश्यकता रहेको धारणा समेत राखे ।
उनले बिचौलियाका कारण उद्यमीहरुलाई मूल्य र बजारीकरणमा समस्या उत्पन्न हुँदै आएकोले सामूहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारीकरण गर्न सहज हुने बताए । जिल्लास्तरमा सानो स्केलमा सहकारीमार्फत र केन्द्रीयस्तरमा लिमिटेड कम्पनीमार्फत कृषि क्षेत्रमा काम गर्न पनि उनले सुझाव दिँदै उनले चेम्बरले व्यापार प्रवर्द्धनमा सघाउ पु-याउने पनि बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउँदै अघि बढ्दा एक अर्कामाथि परेको समस्या समाधान गर्दै र सहज रुपमा अघि बढ्न सघाउ पुग्ने बताइन् । उनले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उद्देश्यका साथ महिला चेम्बरले ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गर्दै स्टोरी टेलिङ र अन्तक्र्रिया कार्यक्रमले थप रुपमा महिलाहरुलाई प्रोत्साहन र बजार प्रवर्द्धन समेतमा मद्दत पुग्ने दाबी गरिन् ।
साथै उनले व्यापार, रुचि र विज्ञताले पनि सफलता हासिल गर्न अहम् भूमिका खेल्ने बताउँदै महिला उद्यमीहरुलाई गोलबद्ध गराई प्रभावकारी कार्यक्रमको माध्यमबाट अन्य कार्यक्रममा समेत जोड्दै जाने वचनबद्धता व्यक्त गरिन् । कृषि विज्ञ डा दिपक शर्माले आफूले १० वर्षदेखि जडीबुटीको विषयमा अध्ययन गरेको बताउँदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ गुणस्तरीय उत्पादनमाथि केन्द्रित हुनुपर्ने बताए ।
जडीबुटीजन्य सामग्री उत्पादक एवम् निर्यातकर्ता प्रेम तिवारीले सरकारबाट आवश्यक सहयोग नपाउँदा जडीबुटीजन्य सामग्रीको बजारीकरणमा समस्या हुँदै आएको उल्लेख गर्दै आफूले टिमुर र अलैँचीको बिक्री गर्दै आएको र उक्त वस्तुहरु लोकल मार्केटभन्दा अन्तर्राष्ट्रिय बजारमा बढी बिक्री गर्ने गरेको जानकारी दिए । साथै उनले ल्याब नभएका कारण नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान अप्ठ्यारो हुने गरेको बताए । हाल विश्व बजारमा बेसारको राम्रो माग रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सफल चार महिला उद्यमीहरुले आफ्नो सफलताको कथाबारे अनुभव राखेका थिए । कार्यक्रममा आफ्नो अनुभव राख्दै अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफूले कर्णालीलगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारीकरण गर्दै आएको जानकारी दिँदै उक्त उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउन मापदण्डहरु पूरा गर्नुपर्ने भएकाले गुणस्तर माथि बढी ध्यान दिइने गरेको बताइन् ।
साथै, उनले आफूहरुले अर्गानिक उत्पादनका लागि पर्यावरणीय सन्तुलनमा समेत विशेष महत्व दिँदै आएको जनाइन् । किसानलाई बिचौलियाहरुबाट ठगीनबाट जोगाउन सचेतनामूलक गतिविधिहरुको गर्दै आएको र यसका लागि प्रभावकारी कार्यक्रम समेतको खाँचो महशुस गरी निकट भविष्यमा किसानको हितमा हुने गरी कार्यक्रम प्रस्तुत गर्ने लक्ष्य बोकेर अघि बढेको पनि उनले बताइन् ।
मौरीपालक महिला उद्यमी सरिता भट्टराईले आफू दश वर्षदेखि मौरीपालनमा लाग्न थालनी गरेको जानकारी दिँदै लगन र अठोटका साथ कर्ममा तल्लीन भएकाले चुनौतीहरुको सहज रुपमा सामना गर्न सकेको बताइन् । सीपका कारण आफू अगाडि भएको महशुस गरेको र शुद्ध महको माग विश्वबजारमा अधिक रहेको उल्लेख उनले गरिन् ।
त्यसैगरी चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफूहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतीय बजारमा खपत हुँदै आएको जानकारी दिँदै चियापत्तीहरु संकलन गर्दा ग्रेडका आधारमा बगानलाई शुल्क तिर्ने गरेको बताइन् । उनले चियाको रङ र लिक्करका आधारमा चियाको गुणस्तर मापन हुने र सोहीअनुरुप मूल्य निर्धारण हुने जनाइन् । चिया बिक्री गर्दा स्याम्पलिङ गरी क्रेताहरुलाई पठाउने गरेको पनि उनले उल्लेख गरिन् । (आर्थिक दैनिकबाट)