काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । देशका विभिन्न स्थानमा रहेका एक सय तीनवटा शाखाहरूबाट बंैकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरूलाई विद्युत् महशुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् महसुल संकलनसम्बन्धी सम्झौता गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार आइतबार भएको सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूवा जो–कोहीले पनि आफूले खपत गरेको विद्युत्को महशुल बैंकको मोबाइल बैंकिङमार्फत वा बैंकको काउन्टरमा नै उपस्थित नभई भुक्तानी गर्न सक्नेछन् । सम्झौताअनुसार सेवाग्राहीले मासिक पाँच सय रूपैयाँसम्मको विद्युत् महशुल भुक्तानी गर्दा कुनै पनि सेवाशुल्क तिनुपर्दैन भने पाँच सय एक रूपैयाँभन्दा माथि पाँच लाख रूपैयाँसम्मको महशुल भुक्तानीमा भने पाँच रूपैयाँ मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।
महालक्ष्मी विकास बैंक र नेपाल विद्युत् प्राधिकरणबीच भएको यस प्रकारको विद्युत् महशुल संकलनसम्बन्धी सम्झौताले सर्वसाधारणलाई बिनाझन्झट विद्युत् महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा ७३ करोड २९ लाख १६ हजार दुई सय ७० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी तीन अर्ब ३४ करोड २४ लाख दुई हजार सात सय २५ रूपैयाँ रहेको बैंकले आव २०७७–०७८ ३८ अर्ब ६० करोड ९२ लाख ४९ हजार नौ सय ६६ रूपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड ६३ लाख ७४ हजार तीन सय ५७ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५६ करोड ७३ लाख २६ हजार आठ सय ४३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ५३ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ५६ करोड ३८ लाख ५५ हजार नौ सय ५१ रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार २७ रूपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड ८१ लाख १८ हजार छ सय १३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार पाँच सय ३५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको थियो ।