काठमाडौँ ।सेयरबजार परिसूचक २८ अंकमा खुम्चिएको छ । केहीदिन देखि लगातार ओरालो लाग्दै आएको सेयरबजार परिसूचक साताको चौथो कारोबार दिन बुधबार ६० दशमलव दुई अंकले ओरालो लागेर २८ सय ७६ दशमलव ५९ अंकमा खुम्चिएको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ९१ अंकले ओरालो लागेर पाँच सय ३६ दशमलव ५१ अंकमा खुम्चिएको छ । यस दिन १३ वटा उपसमूहअन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट ७४ हजार आठ सय ९० पटकको कारोबारमा एक करोड ६१ लाख ४८ हजार छ सय ५२ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त खरिदबिक्रीका आधारमा यसदिन कुल सेयर कारोबार रकम छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमूहहरुमध्ये सबै उपसमूहरुको सूचक ओरालो लाग्दा सेयरबजार परिसूचक पुरै रातो देखिएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ३१ दशमलव ९६ अंकले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलव ६६ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक एक सय ५७ दशमलव ९७ अंकले ओरालो लागेर पाँच हजार तीन सय ४८ दशमलव तीन विन्दुमा झरेको छ । जलविद्युत् उपसमूहको सूचक पनि ५३ दशमलव ३५ अंकले ओरालो लागेर तीन हजार दुई सय ९१ दशमलव ९१ विन्दुमा झरेकोमा फाइनान्स उपसमूहको सूचक पनि ९७ दशमलव पाँच विन्दुले ओरालो लागेर दुई हजार आठ सय ५४ दशमलव ३५ विन्दुमा झरेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि तीन सय २८ दशमलव ८२ अंकले ओरालो लागेर १३ हजार एक दशमलव ३६ विन्दुमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि चार सय २१ दशमलव ३६ अंकले ओरालो लागेर १६ हजार एक सय २४ दशमलव १५ विन्दुमा झरेको छ । यीबाहेक टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी उपसमूहरुको सूचक पनि क्रमशः ८२ दशमलव चार, ६४ दशमलव ३५, एक सय ८८ दशमलव ४३, ६३ दशमलव ३४, ६७ दशमलव ६३, शुन्य दशमलव शुन्य नौ र दुई दशमलव ५३ विन्दुले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ९७ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एक्सेल डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य आठ दशमलव ६० प्रतिशतले बढेर एक हजार ८६ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक रैराङ हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सेयर मूल्य छ दशमलव छ प्रतिशतले घटेर दुई हजार रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुडविल फाइनान्सको सेयर मूल्य पनि पाँच दशमलव ४७ प्रतिशतले घटेर आठ सय २९ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक एनआईबीएल समृद्धि फण्ड १, सिभिल लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय २९ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड ५७ लाख ७५ हजार चार सय ६१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता छ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा २४ करोड ५१ लाख २३ हजार छ सय ३८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक स्वरोजगार लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएको छ ।